Tuesday, September 15, 2026

अनुवाद लघुकथा (अङ्क ३८ मा प्रकाशित)


"सुन त ! उनीहरू दुवै बिहानैदेखि झगडा गरिरहेका छन् । छोराबुहारीको धेरै झगडा हुने, रिसाउने र खुसी हुने क्रम जारी छ ।” प्रौढ पत्नीले श्रीमान्‌लाई भनिन् ।

उनको चिन्ता कम नभएपछि चिन्ताग्रस्त भएर पुनः बोलिन्, “सुन न ! उनको बेडरुमबाट चर्को स्वरमा बहस सुनिइरहेको छ । धेरै झगडा भइरहेको छ ।’’

“किन, के भयो र ?’’ पतिको स्वर ।

“गुनासो आइरहेको छ, दुई वर्ष भइसक्यो विवाह भएको । थाहा छैन, बुहारीले हाम्रो छोरालाई कति पटक प्रेम प्रस्ताव राखिन् होला तर हाम्रो छोराले त ’त्यो शब्द’ बोल्न पनि सकेन जुन आजकल बोल्ने खुब फेसन भइसकेको छ ।”

“के कक बोलेन ? के कक शब्द ?’’ श्रीमान्‌को अनाडी प्रश्न ।

“त्यही कक नै कक ।’’ पत्नीका आँखामा त्यस उमेरमा पनि रङ्गिन वल्बको झिल्का देखिएका थिए ।

“ए कक… ए… कक ।’’ श्रीमान्‌ले कुरा बुझे । उनलाई लाग्यो, पत्नी कहिले त्यही 'खास शब्द’ नबोलिदेओस् । अघि बढेर उनले प्रौढ श्रीमतीको मुलायम हात, आफ्ना हत्केलामा कैद गरेर उसलाई चुप गराए र श्रीमतीलाई असीम प्रेमका साथ हेर्न थाले ।

अनुवादः डा. पुष्करराज भट्ट

Monday, September 14, 2026

लघुकथा (अङ्क ३८ मा प्रकाशित)


 हातखुट्टा अलि कमजोर देखिए तापनि मोटो छाती र खाइलाग्दो छ ऊ । उसले एकजनालाई हात जोड्दै भन्यो, “हजुर पाँच दश रूपैयाँ पाउँ न, म भोकै छु ।”

मागेर खान लाज लाग्दैन ? जीउ हर्ताकर्ता छ, काम गरेर खानु नि ।

“मैले धेरै ठाउँमा काम खोजे हजुर । भाँडा माझ्ने, भारी बोक्ने सबै खोजे तर सबैतिर व्यापार नचलेको जवाफ आउँछ।” उसले भन्दै गयो “म बिमार पनि छु त्यसैले…”

एक हुल मान्छे उसको कुरा सुनिरहेकाछन् । मजाक उडाइरहेका छन् । उनीहरू भन्दै छन् । “देश आर्थिक मन्दीमा छ । हामी पनि मारमा छौँ, बेरोजगार छौँ । समयले हाम्रो पनि हालत कस्तो हुने हो । थाहा छैन् । माफ गर हामी तिमीलाई एक रुपैयाँ पनि दिन सक्दैनौँ ।’’

बिचरा ऊ भारी मन र खिनताबोधले बिस्तारै पाइला बढाउँदै गर्छ । उसले एउटा दृश्य देख्छ अनि झन दुखित हुन्छ । मजाक उडाइरहेका अघिका एक हुल मान्छे । बियर र मासु लिँदै अर्धनग्न केटीहरूसँग जिस्कदै छन् । अट्टहास हाँसो हाँसी रहेका छन् ।

– भक्तपुर

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


साभार लघुकथा (अङ्क ३८ मा प्रकाशित)


माएले भन्यो, “हेर ! मिलेर बस्नु जाति !’’

“दुई वर्षअगाडि विकासेसँग बस्यो टिक्न सकेन । अहिले हामीसँग बस्छु भन्छ !’’ झालेले भन्यो ।

विकासेहरू आफूआफूमै गफिँदै, “ए ! सुन्यौ तिनीहरूले ? झालेको दश वर्षअघि हाकिम भएको व्यक्ति हामीकहाँ आएर सँगै मिलेरे बसौं भन्यो, कुन पद चाहियो ? कुन ठाउँ चाहियो सोधियो । पहिला छाडेर गएको पदमा तिमीलाई राख्न गारो छ, भोलि आउनु घनीभूत छलफल गर्नुपर्छ भनियो । आज त माएकैमा गएर मिलेछ ।’’

विकासेको एक सदस्यले भन्यो, “हरे ! माए र झालेका दुई समूह मिलेछन् । समुहमा पाँच जना हाकिम भैसकेका व्यक्तिहरू छन्, एउटै दापमा पाँचवटा खुकुरी कति दिन टिक्छ खै !’’

त्यही मध्येको एकले भन्यो “राजनीतिमा त एउटा दापमा धेरै खुकुरी नमिली धरै छैन ।’’

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

लघुकथा (अङ्क ३८ मा प्रकाशित)


पण्डित रामानन्द आफ्नो संस्कार र परम्पराका कट्टर भएपनि छोरालाई पढाउनु पर्छ र छोरीलाई पनि बिहे अघि नै कम्तिमा चिट्ठी र तमसुक पढ्न सक्नेसम्म बनाउनु पर्छ भन्ने सोचाइका व्यक्ति थिए । त्यसैले उनले आफ्ना २ वटी छोरीहरूलाई ६–७ कक्षासम्म पढाई १३–१४ वर्षकै उमेरमा बिहे गरिदिए भने छोरो दयानन्दको पनि १८ वर्ष नपुग्दै पल्ला गाउँका खनाल पण्डितकी ७ कक्षासम्म पढेकी १६ वर्षकी शुसील र घरानीया कन्या पल्लवीसँग बिहे गरिदिए । बिहेपछि पनि छोराको पढाई निरन्तर भएपनि बुहारी पढाउने संस्कार बसाउन उनी चाँहन्नथे । छोराले गाउँमा विद्यालय शिक्षा पुरा गरेपछि उच्चशिक्षा अध्ययनका लागि शहर पठाए । परम्परागत विचारधारा भएका रामानन्द खर्च गर्ने कुरामा मितव्ययी हुनुपर्छ र जुनसुकै काम कम खर्चमा गर्नु पर्छ भन्ने धारणा रहेका रामानन्दले छोरालाई दिने खर्चमा पनि हिसाब गरेर ठिक्क आवश्यक खर्चमात्र दिएर पठाए । गाउँबाट हिसाब गरेर पठाएको खर्चले शहरमा अपुग हुनु स्वभाविकै थियो । महिना महिना पैसा त आउथ्यो तर सधैँ नपुग हुने । 

साथीभाइसँग सरसापट गर्दै ६ महिनासम्म खर्च चलायो तर साथीभाइको पनि घरबाट खटाएर पठाएको पैसा सधैँ दिइरहन सम्भव थिएन । अब त साथीको पैसा पनि तिर्नु पर्‍यो ऊ झन् समस्यामा पर्‍यो । केही दिन कलेज बिदा भएको बहाना बनाई उ घर फर्क्यो । खर्च नपुगेको कुरा सोझै बाबुसँग भन्न नसकेर आमा मार्फत भन्यो तर रामानन्द श्रीमतीका कुरा सुनेर छोरालाई बढी पैसा दिने पक्षमा थिएनन् । धेरै पैसा दियो भने छोरो बिग्रिन्छ भन्ने उनको धारणा थियो । आफूसँग रहेको केही पैसा त आमाले दिइन् तर यतिले पुग्नेवाला थिएन । अब उसले श्रीमतीसँग समस्या राख्यो । श्रीमतीसँग रहेको अलिअलि पेवा पाते पनि पाउने भयो तर यसबाट पनि समस्याको समाधान हुने नदेखिए पछि आमाबाबुसँग केही नभने पनि श्रीमतीसँग अब पढ्न शहर नफर्कने कुरा राख्यो । यो सुनेर श्रीमतीले ‘हजुरले पढाई छोड्न हुँदैन नपुग खर्चको जोहो म गर्छु’ भन्दै  "आफूसँग भएका सबै गरगहना लगि बेचेर हाल काम चलाउनु त्यसपछि कति पैसा पुग्दैन म बुबा (माइती)लाई भनेर महिना–महिना नपुग पैसा पठाउन लगाउँछु” भनिन् । आमा र श्रीमतीले दिएका पैसा र श्रीमतीका भएभरका गहना बोकेर दयानन्द शहर गयो । गहना बेचेर काम चलायो र त्यसपछि बाबु र ससुराबाट नियमित खर्च आउन थाल्यो । श्रीमती मार्फत बढी नै रकम नपुगेको भनी ससुराको तर्फबाट बढी नै पैसा लिन्थ्यो । यस पछि समय समयमा घर पनि आउँथ्यो तर पैसा नपुेको भनेर आमासँग गुनासो भने गरेन । यस बीचमा उसको एउटा छोरो पनि जन्मियो । यसरी उसले सहजरुपमा पढाई पुरा गर्‍यो । अब उसले शहरमा जागिर पनि पायो र जागिरकै क्रममा एउटै अफिसमा काम गर्ने केटीसँग हिमचिम बढेछ । पढेलेखेकी जागिर पनि खाने र शहरमै घर भएका बाबुकी छोरी । 

दयानन्द नियमित घर आउनेमा धेरै दिनसम्म घर आएन र केही खबर पनि पठाएन । घरमा चिन्ता बढ्यो । पल्लवीले चिट्ठी पनि पठाइन् तर कुनै जवाफ आएन । बाबु आमा पनि आतालिएर शहरमै बस्ने पल्लागाउँको कार्कीका छोरालाई ‘जसरी पनि दयानन्दलाई भेटेर घरमा खबर गर्न भन्नु’ भनेर खबर पठाए । उसँग भेट पनि भएछ र कार्कीका छोराले ‘भेट भयो, छिट्टै घर जान्छु भन्नुभएको छ’ भनेर खबर गर्‍यो । अब घरपरिवार दयानन्द आउने प्रतीक्षामा बसे । केही दिनपछि ऊ घर आयो तर साथमा एउटी करिव उसकै उमेरकी सिन्दूर पोते लगाएकी केटी पनि थिई । यो देखेर सबै छक्क परे । पल्लवीको मनमा चिसो पस्यो र मुर्छा पर्ला जस्तो भइन् । आमाले सोधिन् ‘बाबु यी नानी चैं को हुन नि ?’ यति भन्नासाथै त्यो केटीलाई ‘बुबा आमालाई ढोग’ भन्दै ‘यिनी तपाईँहरूकी कान्छी बुहारी’ भन्यो । आमाबुबा  मूर्तिवत् हेरेको हेर्‍यै भए, पल्लवीलाई असह्य पीडा भयो र त्यहीँ ढलेर मूर्छा परिन् ।

– दक्षिणकाली नगरपालिका ९, टल्कु

-------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

लघुकथा (अङ्क ३८ मा प्रकाशित)


जङ्गलमा संयोगले हात्ती, सुँगुर र मुसाको जम्का भेट भयो । तीनैजना मुखामुख गर्न थाले । हेर्दा तीनवटै जनावर उस्तै ।

सुँगुर र मुसातिर हेर्दै हात्तीले भन्यो –“हामी हेर्दा उस्तै छौ । हामी मध्ये म सर्वश्रेष्ठ हुँ । ठूलो छु । बलियो छु । तिमीहरू दुवैले मैले भनेको कुरा मान्नुपर्छ ।’’

हात्तीको यो कुरा सुँगुरलाई पटक्कै मन परेन । सुँगुरले हात्तीलाई भन्यो –“यस्तो फुर्ती लाउनु पर्दैन । मेरै सुँगुर जाति बढेर हात्ती बनेको हो । ज्यान ठूलो भयो । कान ठूला भए । पुच्छर लामो भयो । नत्र तिमी र म मा खासै फरक छैन ।’’

यो कुरा मुसाले छेउमा बसेर सुनिरहेको थियो । मुसालाई सुँगुरको तर्क पटक्कै मन परेन । सुँगुरतर्फ हेर्दै मुसाले भन्यो– “हाम्रो मुसाको जाति बढेर सुँगुर भएको हो । नत्र तिमीहरूको आकार, प्रकार, रूप, रङ ठ्याक्कै हामी मुसाको जस्तै छ ।’’

सुँगुर र मुसाको विवाद हात्तीले सुनिरहेको थियो । हात्तीलाई तनाव भयो । साँच्चै सुँगुर बढेर हात्ती भएको हो कि ? हात्ती घटेर सुँगुर भएको हो ? सुँगुर घटेर मुसा भएको हो अथवा मुसा बढेर सुँगुर भएको हो ? तीनै जनामा विवाद चर्कंदै गयो । समस्याको समाधान हुन सकेन । यसको छिनोफानो गर्न तीनैजना वनको राजा सिंहको दरबारमा जाने निर्णय गरे । 

तीनैजनाको तर्क सुनेपछि राजाले निर्णय सुनाए – “कोही बढेर अथवा कोही घटेर कोही बनेको होइन । प्रकृतिले सिर्जना गर्दा सबैलाई बराबरी हैसियतमा बनाएको हो । तिमीहरु आ–आफ्नो ठाउँमा सबै ठूला हौ । प्रकृतिको कानुनमा सबै बराबरी छौ“ । फैसला सुनेर तिनै जना दङ्ग परे अनि आ–आफ्नो बाटो लागे ।

– काठमाडौँ

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।