Monday, October 12, 2026

साभार लघुकथा (अङ्क ३९ मा प्रकाशित)


भ्रूणको रूपमा म आमाको पेटमा भएको बेला पैह्रोले पुरेर मेरो बाबुको मृत्यु भएकोले घर परिवारदेखि छिमेकी नातादार सबैले मलाई नाम राखेका थिए ।

– “बौ टोकुवा ।’’

मेरी आमाको चरित्रमा औंला ठड्याउँदै हजुरबा, हजुरआमालगायत काका, ठूलो बुबा, फुपूहरू सबै मिलेर अलच्छिनी भन्दै केही नदिएर घर निकाला गरे । जन्मघरमा पनि उनले स्थान पाइनन् । दुखी, पीडित र तिरस्कृत उनी सानी छोरी मलाई लिएर संकल्प सहित सहर गइन् ।

– “जे जस्तो गरेर भए पनि छोरीको भविष्य बनाउँछु ।’’

घर–घरको काम गर्नेदेखि डोकोमा सागसब्जी घर घरमा बेच्नेसम्म गरेर मलाई पढाउन थालिन् रे ! विधवा उनले आफ्नो चरित्रलाई हरसम्भव निष्कलङ्क राखिन् । उनी हेर्नमा आकर्षक, सर–सफाइमा सचेत, इमान्दार र कर्तब्यनिष्ठ भएर आफ्नो काम गर्दैथिन् । यसै क्रममा एकजना विदेशी एन जि ओ अफिसरको घरको काम गर्ने नोकरी पाइन् । म हुर्केदै थिएँ । स्कूल बिदा भएको बेला मलाई पनि सँगै काममा लान्थिन् । पछि मैले प्लस टु अध्ययनको क्रममा डिस्टिङसन ल्याएँ । मभित्र पस्ने बित्तिकै रवर्ट सर कुर्सीबाट उठेर मसँग हात मिलाएर भने ।

– “बधाई छ रिता तिमीलाई ! तिम्रो सफलतामा म पनि ज्यादै खुसी भएको छु ।”

– “यो तिम्रो सफलताको लागि मेरो तर्फबाट सप्राइज गिफ्ट हो । तिमी अहिले नै यो खोलेर हेर्न सक्छौ ।“

– “धन्यवाद सर !’’

त्यसपछि खाम खोलें । खामभित्र उनको देशको एउटा कुनै चिकित्साशास्त्र पढाउने युनिभर्सिटीमा मेरो लागि छात्रवृत्तिको पत्र रहेछ । त्यो देखेर म खुसी तथा अच्चम्मित भएँ। उनले सोधे ।

– “रिता तिमी यो गिफ्टदेखि खुसी छौ ?’’

– “म असाध्य खुसी छु, सर !’’

त्यसपछि उनले अर्को त्यस्तै खाम झिकेर मलाई खोल्न लगाए । त्यसबेला मेरी आमा पनि हँसिलो अनुहार लगाएर उनीसँगै उभिएकी थिइन् । मैले खाम खोले । जसभित्र उनी र मेरी आमाको कानुनी बिहे गरेको प्रमाणपत्र थियो ।

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

लघुकथा (अङ्क ३९ मा प्रकाशित)


एक दिनको कुरा हो । ऊ कुदिरहेको गाडीमा एक्कासी ब्रेक लगाउँछ । व्यस्त सडकको बीचमा टक्क उभिन्छ । त्यही बेला उसले सोध्छ, “ए आम्मै ! के भयो ?”

बूढीले चार आना मुगाको माला बायाँ हातले हल्लाउँदै भनी, “देशको अवस्था नाजुक छ । त्यसैले मलाई गाउँमै ठीक छ । गाउँले दाजुभाइ, दिदीबहिनी छन् । गाउँमा मेरो के छ र ? कसले पकाएर खान्छ ?”

कुनै दिन, कुनै समय, अनिश्चिततामै बाँचिरहँदा उनीहरूको भेट अधुरै भयो ।

बूढीको खबरले म गद्गद् भएँ । घरको ढोकामा भर्खरै पसेको छोरा शेखरले आमालाई बिरामी भएको खबर सुनेपछि मेरो मन झन् चिन्तित भयो । छोरा विदेश जाऊँ भन्थ्यो, तर आमालाई कसरी छोडेर जानू ?

यस्तै सोचाइमा म कुरेर बसेँ । उसका कलेजका साथीहरू अलग–अलग विद्यार्थी संगठनमा थिए । उनीहरू समय–समयमा घर जान्थे । कहिलेकाहीँ घरबाट मीठो कोसेली पनि आउँथ्यो । तर म आफूलाई निकै अभागी ठान्थेँ ।

एक दिन छोरा आएन । दिनभरि फोनमा “भोलि आउँछु” भन्दै टारिरह्यो । तर आज–भोलि गर्दै समय बित्दै गयो । उता बा–आमाको खुसीको सीमा नाघिसकेको थियो, यता छोराप्रतिको मेरो आशा अनपेक्षित रूपमा टुट्दै गयो ।

आमा–बाबुको मन छोराछोरीमा र छोराछोरीको मन आफ्नै संसारमा अल्झिँदै गयो ।

सफलता बीचमै चुँडियो ।

– मैतिदेवी, काठमाडौँ

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

लघुकथा (अङ्क ३९ मा प्रकाशित)


"जमदहवाली ! कत छि तु गे ?” जमदहवालीको खोजी गर्दै सोनावतीले पिँढीको माटोको दियोमा तेल थपिन् । दशमीको साँझ कमला नदीको कछारमा झिझियाको ताल, ढोलको धुन र मेलाको कोलाहल एकैसाथ घन्किरहेको थियो ।

दुर्गाभवानीको थानअगाडिको दीप अचानक निभ्यो ।

सोनावतीको हात रोकियो । छातीभित्र चिसो सर्प सल्बलाएझैँ भयो । त्यत्तिकैमा बारीबाट हँसिया कम्मरमा सिउरेर जमदहवाली आइपुगिन् ।

“भरे मेलाबाट अबेर होला भनेर बाख्रालाई घाँस काट्दै थिएँ ।” यसो भन्दै सोनावतीले सात वर्षको छोरा र तीन वर्षकी छोरीको हात समातिन् । हरियो लहँगा, रातो सन्दुर र निधारको टीकाले उनको मुहार झन् उज्यालो देखिन्थ्यो ।

“पहिले भगवतीलाई ढोगौँ, अनि पिङ खेलौँला र जलेबी किनौँला ।”

दुवै बालबालिकालाई बीचमा पारेर उनीहरू मेलातिर लागे । मेलाको घुइँचो बाक्लिँदै गयो । ढोल थर्कियो । पिङ आकाश छोएर फर्कियो । धूप, जलेबी र पसिनाको गन्ध चारैतिर मिसियो ।

अचानक सोनावतीका हात रित्तो भएको थाहा पाएर चिच्याइन्‌;  “बाबु ! छोरी !”

उनको चीत्कारले मेला स्तब्ध भयो । जमदहवाली भिड चिर्दै दौडिइन् । मन्दिरपछाडिको पुरानो पाकरीमुनि पुग्दा उनका पाइला रोकिए– दुवै बालबालिका निश्चिन्त भएर माटाका गट्टा खेलिरहेका थिए ।

“आमा !” दुवै दौडेर जमदहवालीको काखमा आए । बच्चा बोकेर उनी चौतारीतिर फर्किइन् । सोनावती बरको रूखमुनि उभिएकी थिइन् ।

“हेर्, तेरा छोराछोरी सुरक्षित छन् !” सोनावती मुस्कुराइन् । बच्चाहरूको टाउकोमा हात राखिन् ।
स्पर्शमा न ताप थियो, न शरीरको भार–केवल शीतल हावा ।

“जमदहवाली, बच्चालाई सम्हाल्नु । म त निभेको त्यो दीप बाल्न भगवतीको शरणमा पुगिसकेँ ।”
एक झोक्का हावा चल्यो । सोनावतीको हरियो आकृति धूपको धुवाँझैँ मेलाको उज्यालोमा विलायो ।

जमदहवालीले काँप्दै बच्चाहरूलाई छातीमा टाँसिन् । त्यतिबेला मन्दिरतिरबाट फेरि अखण्ड दीप बल्यो ।

मेलाको भीडमा जलेबी र पिङको रौनक उस्तै थियो; तर जमदहवालीको आँखामा पहिलोपटक एउटी आमाको अनुपस्थितिमा पनि ममता कहिल्यै अनाथ हुँदैन भन्ने उज्यालो बलिरहेको थियो ।

– धनगढीमाई, सिरहा

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

लघुकथा (अङ्क ३९ मा प्रकाशित)


"टोल समुदायमा गाह्रो सारो पर्दा वडाध्याक्ष पो अघि सर्नुपर्छ । तपाईं हामी जान्ने भएर अग्रसर हुनु खासै राम्रो होइन” भन्दै जो कोहीको आलोचना गर्थ्यो ऊ । 

साँच्चै भन्ने हो भने फल्नाले यसो गर्नुपर्छ ढेस्कानाले उसो गर्नुपर्छ भन्दै अर्तिबुद्धि दिनेमा खप्पिस थियो । ऊ आफै भने कहिल्यै अघि सरेर राम्रो काम गरेको दृष्टान्त थिएन । 

त्यो टोलमा महिनामा एकपटक टोलसुधार मिटिङ्ग बस्ने प्रचलन थियो । टोलका सधै नागरिक मिलेर एउटा मिटिङ्गमा उसलाई पहिलो वक्ता बनाउन निधो गरे । 

“आज मैले के बारे बोल्दैछु भन्ने बारे थाहै होला” भन्दै उपस्थित समुदायलाई प्रतिप्रश्न गर्‍यो । 

दर्शकदीर्घाबाट “थाहा छ” भन्ने स्वर गुन्जियो । ए… उसो भए थाहा भए के भन्नु पर्‍यो र भन्दै मञ्चबाट बाहिरियो । 

टोलबासीले अर्को मिटिङ्गमा पनि उसलाई पहिलो वक्तै बनाए ।

“आज मैले के विषयमा बोल्दैछु भन्ने सबैलाई थाह होला” भन्दै मुस्कुराउँदै बोल्यो ऊ । 

भीडबाट “थाह छैन” भन्ने उत्तर पाएपछि “तपाईंहरू दिनरात चासो राख्नेलाई त थाह नभएको विषयमा मैले के बोल्नु” भन्दै पन्छियो ।

टोलमा उसको यस्तै हर्कतले सबैलाई हत्तु पारेको थियो । 

उसको सेखी झार्न “आधा जसोले थाह छ भनौं आधा जसोले थाह छैन भनौं” भनेर अत्तो थाप्ने टोलबासीले सल्लाह गरे । 

उसले यसपटक के भन्दोरहेछ भन्नेमा सबैलाई कौतुहल थियो ।

आज मैले के विषयमा बोल्दैछु भन्ने कुरा “सबैलाई थाहै होला ?” भन्दै भीडलाई प्रश्न गर्‍यो । भीडमा आधाले थाह छ आधाले थाह छैन भन्ने आवाज गुन्जियो । 

ऊ झन् उक्सिदै “उसो भए थाह हुनेले थाह नहुनेलाई बताइदियो भैहाल्यो त भन्दै” पानीमाथि ओबानो बन्यो । 

टोल समुदायका नागरिकले बुद्धिमानलाई भन्दै पर्दैन । अबुझलाई दुई–चार पटक भन्दा बुझी हाल्छ । कोकल्याँटोलाई चाहिँ कसैगरी सकिन्न भन्ने निचोड निकाले । 

त्यसपछि त्यो व्यक्तिलाई सबैले वास्ता गर्न छाडे । 

– गोरखा

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

लघुकथा (अङ्क ३९ मा प्रकाशित)


धेरै लामो गाइँगुइँलाई सत्य सावित गर्दै र शहरबासीको कौतुहल शान्त पार्दै अपरान्ह कालमा जुलुसहरूका जुलुस आए । विभिन्न दिशाबाट आएका जुलुसहरू साँच्चै अनौठा थिए ।  

एउटा जुलुसमा प्रसिद्ध नेताहरू र कार्यकर्ताहरूमात्र सहभागी थिए । उनीहरूको नाराले सदाचार सद्भाव सुशासन आदिको पक्ष लिएको सुनिन्थ्यो । अर्को जुलुसमा विभिन्न तहका कर्मचारीहरू थिए र घुस कमिसन ढिलासुस्तीले आदिको बिरोध गरिरहेका थिए । अझै अर्को जुलुसमा ठूल्ठूला निर्माण व्यवसायीहरू र तिनका सहायकहरू थिए जसले कामचोर प्रवृत्ती, योजना अलपत्र पार्ने कार्य आदिको विरोध गर्दै थिए । अर्को एउटा जुलुसमा आफूलाई महान शक्तिशाली ठान्ने विश्वका चर्चित नेता तथा सरकारका सदस्यहरू हतियारको होडबाजी छल कपटको विरोध गर्दै शान्ती र अहिंसाको पक्ष लिएका देखिन्थे । 

एउटा जुलुसमा कसाहीहरूले जनावरहरूको संरक्षण गर्नुपर्ने र हत्याहिंसा रोक्नुपर्ने भन्दै थिए । लामा कपाल पालेका जिउमा अनेक डरलाग्दा चित्र खोपेका त्यस्तै चित्र भएका लुगा लगाएकाहरू आपसी वैमनस्य त्यागी शान्त र कुलत विहीन समाज निर्माण गर्नुपर्ने भन्दै थिए । कोही आधुनिक सुकिला नरनारीहरू बृद्धाश्रम बन्द गर्नुपर्ने र वृद्धवृद्धाहरूलाई घरमै मानसम्मान माया दिनुपर्ने सन्देश दिँदै थिए । राजनीतिक दलका झण्डाको तस्वीर छापिएका पोशाक लगाएका न्यायकर्मीहरू निष्पक्ष, सर्वसुलभ र पूर्ण न्यायको नारा लगाउँदै थिए ।  यस्ता सयौं जुलुसहरू आए जसको अन्त्यमा बङ्करहरूको लहर थियो जसले सरसफाइको वकालत गर्दै थियो ।

विद्यालयमा त्यो दिनको छुट्टी भएपछि आफ्ना आमाबाबुको हात समातेर घर फर्कँदै गरेका केही बालबालिकाले आफ्ना आमाबाबुलाई यी जुलुसहरूमा के फरक छ भनेर सोधे । आमाबाबुले यिनिहरूको बाहिर देखाउने रुपमात्र फरक भएको तर अन्तर्मन उस्तै भएको बताए ।

– रत्ननगर, चितवन

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।