छाउपडीका देवताभित्र नियाल्दा
लघुकथाकार गङ्गा आचार्यको छाउपडीका देवता नामक लघुकथासङ््ग्रह २०७६ मा ज्योति प्रकाशन प्रा. लि. प्रकाशन रहेको छ । यस कृतिभित्र उनले लेखेका छाउपडीका देवता, पश्चाताप, विचार, भङ्गालो, निष्पक्ष, दम्म, न्याय, अचम्मलगायत विभिन्न शीर्षकका ५० वटा लघुकथाहरु राखिएका छन् । यसमा सङ्गृहीत ५० वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन् । यस सङ्ग्रहभित्रको छाउपडीका देवता शीर्षकको पहिलो लघुकथामा जुनुलाई छाउगोठ नजान मैले पनि प्रोत्साहन गरेको थिएँ । ऊ आफैँ पनि सचेत थिई । हामीलाई थाहा थियो । मान्छेले कुरा काटेर केही हुँदैन । देउता रिसाउने पनि होइनन् । रजस्वला हुनु पाप पनि होइन भनिएको छ । उत्तर आधुनिक तिज शीर्षकको लघुकथामा साउनबको पहिलो हप्ताबाटै दर खाने कार्यक्रम सुरु ? कसरी समय मिलाउनु ? मेरो मनमा कुरा खेलिरह्यो । मौन रहे । अध्यक्षको नाताले पनि केही न केही बोल्नै पथ्र्यो मैले भनिएको छ । लघुकथामा यो उनको पहिलो प्रयास हो । उनले मनमा उर्लिएका भावलाई लघुकथाको रुप दिन सकेकी छिन् । हाम्रो समाजमा आफ्नै सन्तान भए पनि छोरा र छोरीलाई हेर्ने दृष्टिकोण फरक भएको दृष्टान्त बडो रोचक ढङ्गले लघुकथामा दर्शाइएका छन् । यस सङ्ग्रहमा परिवार र समाजमा नारीहरुले भोग्नु परेका अनेक थरिका दुःख र पीडाका बोझहरुलाई लघुकथामा उतारिएको छ । पाहुना शीर्षकको छोटो लघुकथामा गाउँबाट भोलि भिनाजुका भाइ आउने हुन् रे ! हैरान पार्ने भए पाहुनाले भनिएको छ । गल्ती स्वीकार शीर्षकको लघुकथामा निरुताको रिस झन् नाकको टुप्पामै छ । तुरुन्त अनेक जवाफ फर्काइन् । झगडाले उग्र रुप लियो भनिएको छ ।भाषिक सरलता गङ्गाका कथाहरुको महत्वपूर्ण विशेषता हो । विषय र विचारगत विविधता उनको कथाहरुको मूल उद्देश्य हो । न्याय शीर्षकको लघुकथामा गरिब, दुःखी, निमुखा मान्छे अपराधी भएको भए त उहिल्यै समाएर कारवाही गरिसक्ने नि हजुरआमाले भन्नुहुन्छ । डिभी शीर्षकको लघुकथामा म उठ्दै थिएँ । मोबाइलको घण्टी बज्यो फोन उठाउन नभ्याउँदै छोरी खुसीले चिच्याई ममी मलाई डिभी प¥यो कथाकारले भनेकी छिन् । गङ्गाले जीवनमा जुन उतारचढाव भोगिन् । सायद तिनै भोगाइ अनुभव र सामाजिक घटना परिघटनाले अङ्कुराएको मनको भाव नै छाउपडीका देवता लघुकथासङ्ग्रहको रुपमा जन्माएकी छिन् । मनका भावहरुलाई समय र परिस्थितिले प्रभावित गर्दा जे जस्तो अभिव्यक्त भयो त्यही नै यस छाउपडीका देवता लघुकथासङ्ग्रहमा सङ्कलित छन् ।
निष्पक्ष शीर्षकको लघुकथामा राधाले आफ्नो अफिसका साथीहरु तर्फ हेर्दै भनिन् । बढुवा प्रतियोगिताको रिजल्ट भएछ नि । म पास भएछु । सबै पास पाएको भए अझैँ जाती हुन्थ्यो । प्रतियोगी साथीहरु सबै मुखामुख गरे । तीमध्ये एकजनाले भने अहिलेको रिजल्ट निष्पक्ष गरेको छैन भन्ने हल्ला छ भनिएको छ । शिक्षा शीर्षकको लघुकथामा शिक्षक बनेर विद्यालय प्रवेश गरेको दिन गोमा विध्न खुसी थिइन् । पहिलो पिरियडमा विद्यार्थी उपस्थिति पुस्तिकासहित कक्षाकोठामा प्रवेश गर्दै थिइन् । प्रधानाध्यापकले भन्नुभयो विद्यार्थी अलिक चञ्चल छन्, लौरो लिएर जानुहोस् । अलिअलि डरत्रास देखाउनुपर्छ । नत्र अटेरी बन्छन् भनिएको छ । भङ्गालो शीर्षकको लघुकथामा आमा त्यो घरमा म बस्न सक्दिन । रातदिन दाइजो थोरै भएको निहुँमा कङ्गालकी छोरी भन्दै गाली गर्छन् । हजुरको ज्वाईंमा झन् संवेदना नै छैन कुट्ने पिट्ने आरोप बाहेक भनिएको छ ।
गङ्गाको पहिलो लघुकथासङ्ग्रह भएपनि यसभित्र लेखिएका लघुकथा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिनसके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकार गङ्गाले मनन गरेकी छिन् । सङ्ग्रहभित्रका पात्र, परिवेश र घटना हाम्रै समाजमा देखिएका सुनिएका र भोगिएका छन् । मान्छेका प्रवृत्ति र उसले बिर्सदै गएको आफ्नो धरातल तथा हराइरहेको मानवीय संवेदनालाई पनि यस कृतिले आफ्नो विषय बनाएको छ । आशावादी भएर समाजका विकृतिलाई निर्मूल पारेर एउटा सुन्दर समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस सङ्ग्रहभित्रका कथा सक्षम छन् । स्रष्टा एउटा समाजको द्रष्टा पनि भएकाले ऊ यो समाजबाट अलग हुन कत्ति पनि सक्दैन । यही समाजमा रहेका सङ्गत, विसङ्गत सबै कुरासँग पौँठाजोरी खेल्नु नै पर्छ । छोराको परिवार शीर्षकभित्र छोरा विनोदले एकदिन बिहानै फोन ग¥यो । सुन्नुहोस् न आमा । असाध्यै खुसीको खबर छ । आमा पार्वतीले सोचिन् अब पक्कै छोरा आउँछ । यतै इलम गर । नजा परदेश दुःखसुख खाउँला बसुँला भन्छु । उत्साहित हुँदै भनिन् के छ खबर ? सुनाउन छोरा छिट्टै । जब खबर सुनिन् हातबाट मोबाइल बस्यो । छोरा भन्दै थियो मैले ग्रिनकार्ड पाएँ । अब छिट्टै हजुरकी बुहारी र नातिनीलाई ल्याउन पाउँछु । मलाई अब मेरो परिवारसँग छुट्टिएर बस्न पर्दैन । योभन्दा खुसीको खबर अर्को केही हुन्छ र आमा?
गजल र कवितामा सामाजिक सञ्जालमा प्रशस्त देखिएकी छिन् । सामाजिक, सांस्कृतिक विसङ्गतिमाथि गङ्गाको मुख्य केन्द्रबिन्दु भएको छ । उनका सामाजिक जीवन, भोगाइ, जीवन देखाइ र जीवन सुनाइहरु सरर्र सिनेमाका रिलजस्तै आएका छन् । धार्मिक आडम्बरमाथि असन्तुष्टि छिन् । कथा आफैमा पूर्ण भएजस्तै लघुकथा पनि स्वयम्मा पूर्ण हुन्छ । अर्थात् लघुकथा कथाको संक्षेपीकरण होइन । लघुकथा आख्यानको लघुतम वा सूक्ष्मम विधा हो । लघुकथा छोटो हुन्छ तर पूर्ण हुन्छ । छोटो आयाममा जीवन र जगत्लाई समेट्नु लघुकथाको विशेषता हो । लघुकथा लोकप्रिय भएकै कारण यसप्रति लेखनको आकर्षण बढ्दै गइरहेको छ ।


No comments:
Post a Comment