समानता
-देवेन्द्रराज शाक्य
बुटवल, रुपन्देही
सडक सडक, चोक चोकमा बसेर जुत्ता सिउने एक अदना, अवोध, स्वावलम्बी किशोर सन्तबहादुर नेपाली । सडकको एक छेउमा बसेर जुत्ता सिलाई आफ्नो गुजारा गर्ने सन्ते निन्याउरो मुख लाएर पेटीमा बसिरहेको थियो ।
उसको टिठलाग्दो अनुहार देखेर मैले सोधेँ– के भयो भाई तिमीलाई? बिरामी छौ कि क्या हो?
उसले आफ्नो विवशता पोख्यो– दाई ज्वर आउला जस्तै भएको छ । सारा जीउ दुःखीरहेको छ । आज बिहानदेखि एक पैसा आम्दानी भएको छैन । केही पनि खान पाएको छैन । भोकले पेट मदारी रहेकोछ । बान्ता होला जस्तो भइरहेछ । के गरुँ?
उसको जवाफ सुनेर मेरो मन साह्रै दुख्यो । उसलाई केही नभनी म सरासर भित्र गएँ र आमालाई सबैकुरा सुनाएँ । आमाले केही सोधपुछ गर्नु भएन । सोझै भन्नुभयो– खाना तयार भएको छ । उसलाई पनि खाना खुवाई देउ न त । भान्सामा हामी दुवैसँगै बसेर खाना खायौं ।
सन्तबहादुरले कल्पनासम्मपनि गरेको थिएन, सँगै बसेर खाना खान पाइएला भनेर । उ केही बोल्न सकेन । कृतज्ञभावले हेर्दै बाहिर निस्कियो । हातमा औजार लिएर जुत्ता सिउन थाल्यो ।
No comments:
Post a Comment