Sunday, November 19, 2023

लघुकथा (अङ्क १ मा प्रकाशित)

 स्वर्ग र नर्क

-राजेशमान के.सी.
गठ्ठाघर, भक्तपुर 

एक पटक एउटा सिपाही घुम्दै फिर्दै एकजना महात्मा बस्ने आश्रममा पुगेछन् । महात्मा नियमित जसो आफ्ना भक्तजनहरुलाई आध्यात्मिक प्रवचन श्रवण गराएर उनीहरुको जिज्ञासा मेटाउने गर्दा रहेछन् ।

यो कुरा थाहा पाएपछि सिपाहीले पनि ती महात्मासँग प्रश्न गरेछन् । स्वामी, तपाईं यहाँका प्रतिष्ठित आध्यात्मिक गुरु मानिनुहुन्छ । धेरै जिज्ञासुहरु दूरदराजबाट समेत आफ्नो धार्मिक आध्यात्मिक जिज्ञासा मेटाउन तपाईंकोमा आउने गरेका छन् । कृपा गरेर मलाई यो बताई दिनुहोस् कि संसारमा स्वर्ग र नर्क भन्ने कुरा हुन्छ कि हुँदैन ? यदि हुन्छ भने त्यो कस्तो हुन्छ र कहाँ हुन्छ? सिपाहीको यो प्रश्न सुनेपछि महात्माले उनलाई प्रतिप्रश्न गर्नु भएछ ।

मलाई यो प्रश्न गर्ने तिमीचाहीँ को हौ नि, मित्र? पहिला तिमी आफ्नो परिचय दिन्छौ कि? त्यसपछि सिपाहीले बढो घमण्डका साथ महात्मालाई जवाफ दिएछम त यही नजीकै सहरको प्रतिष्ठित राजनेताहरुको अंगरक्षक हुँ । ठूलठूला राजनेताहरुको सुरक्षा गर्नु नै मेरो प्रमुख कार्य हो ।

सिपाहीको यो उत्तर सुनेपछि महात्माले भन्नु भएछमित्र, तिमी आफूलाई अंगरक्षक हुँ भन्छौ, ठूलठूला राजनेताहरुको सुरक्षा गर्छु पनि भन्छौ । तर मलाई त लाग्छ तिमी आफ्नै रक्षा गर्न पनि सक्षम देखिँदैनौ । फेरि तिमी अरुको रक्षा गर्छौ कसरी? महात्माको यो अनपेक्षित जवाफ सुनेपछि सिपाही रिसले क्रुद्ध भएर गर्जिन थालेछ पाखण्डी पण्डित, तैंले मेरोक्ष मतामाथि प्रश्न ठड्याउने ? मेरो अपमान गर्ने ? अब म तँलाई बाँकी राख्दिन भन्दै कम्मरको म्यानबाट फुत्त तरबार निकालेर महात्मामाथि जाइलाग्न पुगेपछि महात्माले सिपाहीको आवेश शान्त पार्दै भन्नु भएछ तिमीले आफ्नो प्रश्नको आधा उत्तर त आफै दियौ नि । कसरी? भन्ने सिपाहीको प्रश्नको जवाफमा महात्माले भन्नु भएछतिमीले जुन किसिमबाट आफ्नो मनभित्र रहेको क्रोध र अहम् प्रकट गर्यौ निहो, त्यही हो नर्क भनेको । किनकि जब तिमी आफ्नो क्रोध र अहम्लाई प्रकट गर्छौ, तबतिमीले मानविय ज्ञान र विवेक गुमाउँछौ र त्यतिखेर तिम्रो मस्तिष्कले पनिसही र सन्तुलित काम गर्न सक्तैन । अनि यसबाट तिमीले जुन गलत परिणाम भोग्नु पर्छ, नि, हो त्यही हो नर्क भनेको ।

महात्माको यस्तो जवाफ सुनेपछि सिपाहीले पनि एक प्रकारको ग्लानी महसुस गर्दै भनेछ । अवश्य पनि मैले एक्कासि यस्तो क्रुद्ध भएर आफ्नो अहम् देखाउनु हुँदैन थियो । त्यसपछि महात्माले फेरि भन्नु भएछअब तिमीले आफ्नो प्रश्नको बाँकी आधा जवाफ पनि दिएका छौ । सिपाहीको जिज्ञासा शान्त पार्दै महात्माले भन्नु भएछतिमीले आफ्नो गल्ती महसुस गरेर जुन नम्रता देखायौ नि हो, त्यही हो स्वर्ग भनेको । किनकि जब मानिसले आफ्नो भूल वा गल्तीको महसुस गरेर नम्रता प्रकट गर्दछ, तब उसले सही मार्ग पहिल्याउँछ र सही मार्ग पहिल्याउनु अथवा सही गन्तव्यमा हिँड्नु भनेको नै स्वर्गको बाटोतर्फ लाग्नु हो । महात्माको यस्तो जवाफ सुनेपछि एक प्रकारले सन्तोष व्यक्त गर्दै महात्मालाई प्रणाम गरेर त्यो सिपाही आफ्नो गन्तव्यतिर खुरुखुरु लागेछ ।

No comments:

Post a Comment