Sunday, November 19, 2023

लघुकथा (अङ्क १ मा प्रकाशित)

गुनासो स्मार्ट सिटीको

-विष्णु थापा बिछोड
कागेश्वरी, गागलफेदी, काठमाडौँ 


हैन हौ ! अध्यक्षज्यू ! हाम्रा घरतिरको बाटो कहिल्यै देख्नु भाको छ?
मुर्दा बोकेर पनि लान नमिल्ने भाको छ हिलो र खाडलले ।

अस्ति काँइला दाइको छोरी बिरामी हुँदा लिन आएको एम्बुलेन्स फसेर कत्रो जात्रा ! – वडाको प्रगति समीक्षा मिटिङ्मा बलबहादुरले आफ्नो गुनासो पोखी हाले ।

यो नगरपालिका कि नगर तालिका हो? ताक परे तिवारी नत्र गोतामे भने जस्तो जुनसुकै काम पनि अलपत्र छन्, बाटो हेरे उस्तै, मन्दिर हेरे उस्तै, घाटको तटबन्ध उस्तै सब अपुरा बाहेक केही छैन, नेता र ठेकेदार मिले पछि त हाम्लाई के टेर्छ्न ! हामी सोझा जति कराएपनि उहीँ हो ताल –सन्तुराम यसैगरी पड्केर बोल्यो ।

आफूले दिनहुँ भोगेको पीडा सम्झेर होला नगरबासी हुन नसकेको गाउँलेले हाँ मा हाँ मिलाए । अध्यक्षको दैलोमै पिच सडक छ । वडा सदस्य  कृष्णवीरको गाउँको बाटो पुरै ग्राभिलिङ्ग भाको एक मैना पुग्या छैन, “हाम्लाई चै मुर्दाघाटसम्म लान नि सकस" हाम्रा सास्ती कस्ले देख्छ र !
पख्लाउ – अर्को पाली भोट तिम्लाई ! भोट र निर्वाचनको धम्की लगाउँदै वीरमानले आफ्नो निरीहता प्रकट गरिहाल्यो  ।
यी यावत गाइँगुई र होहल्लालाई चिर्दै अन्ततः वडाअध्यक्ष रुद्रप्रसाद गुरागाँईले नम्र स्वरमा आफ्नो भनाइ सबै सामु यसरी राखे– हेर्नुस् मेरा दाजुभाइ हो ! म तपाईंको आफ्नै हुँ मेरा अन्नदाता तपाईंहरु नै हो । यो ठाउँसम्म आइपुग्न हजुरहरुको कत्तिको योगदान छ भन्ने कुरा म कहिल्यै भुल्ने छैन । म तपाईंहरुकै  हितका लागि काम गरिरहेकाले केही समय त मलाई पर्खनुस् !

हामीले हाम्रो नगरलाई स्याटलाइट स्मार्ट सिटी बनाउने गुरुयोजनामा पारी सकेका छौं । यसभित्र – घरघरमा बिजुली, पानी,चौडा पिच सडक सबै सुविधा सम्पन्न घरहरु हुने छन् । रह्यो घाटको कुरा – अब टाढा जानुपर्ने छैन घाटको लागि, प्रत्येक वडामा बिजुली सवदाह, वाइफाइ सुविधा सम्पन्न जिमखाना,  पुस्तकालय, वृद्धावस्थामा पुगेकालाई रमाउन रमणीय पार्क, चिल्ड्रेन पार्क, स्वास्थ्यको लागि योगालय, औषधालय, कविता, कथा गोष्ठीका लागि सभाहल सबै हुनेछन् ।

बरु यसको लागि तपाईंहरुले जग्गा दान दिएर आफ्नो योगदान देखाउनु हुनेछ भन्ने मैले र नगर प्रमुखले पूर्ण विश्वास लिएको छौँ । हरेक विकास योजनाका कार्यमा र कर तिरोतिरानमा तपाईहरुको साथ र समर्थन पाई आएकोले हामीले तपाईंहरुको खेतियोग्य जमिनपनि हामीलाई दिनुहुन्छ भन्ने जानेर नै जग्गा रोक्काको परिपत्र गरिसकेका छौँ ।

यत्रो विकास र सुविधाजनक जीवनको लागि र हाम्रा सन्तानको उज्यालो भविश्यको लागि हामीले केही योगदान त गर्नै पर्छ हैन र? तपाइँहरुलाई मेरो कुरा कस्तो लाग्यो ? वडा अध्यक्षज्यूले आफ्नो र नगरको योजना सविस्तार लगाए ।

परेको मर्का, गुनासो र ठूलै भरोसा लिएर गएका नगर गाउँले अन्ततः वडा अध्यक्षज्यूको विशाल योजना र दूरगामी सोचको आश्वासन सुनिसके पछि गरुङ्गो मन बोकेर खस्याकखुसुक गर्दै आ–आफ्ना घर फर्के...... ।

No comments:

Post a Comment