Tuesday, November 28, 2023

लघुकथा (अङ्क ६ मा प्रकाशित)

सचेत ग्राहक

-अनु विज्ञाति
सुन्दरहरैचा, मोरङ  



“भर्खरै माझेर ल्याएको हुँ । सफा छ ।’’ भनेर स्पष्टीकरण दिने वेटरको उसले सात्तो उडायो ।
“तेरो हातका औँला गिलासभित्र छिराएर किन समाइस् ?’’
“त्यहाँ तेरो हातको किटाणु सरेन अब ?’’
“मैले त्यही गिलासमा खाँदा सिधा त्यो किटाणु मेरो फोक्सोमा पुग्न सक्छ । मलाई इन्फेक्सन हुन सन्छ । म बिरामी पर्न सक्छु ।”
“के थाहा, यही कारण मर्छु पनि कि ? यदि त्यस्तो भयो भने तँ जिम्मेवार हुन्छस् ?”

आवाज अझैँ उचो बनाएर करायो,
“मान्छेको स्वास्थ्यप्रति यति गैर–जिम्मेवार बन्न मिल्छ होटलहरूले ?”
उसको चर्को स्वर सुनेका अरु ग्राहकहरू अर्डर गर्न छोडेर उसको कुरा सुन्न थाले । होटल मालिक ग्राहक भड्किने डरले हतारिँदै उसको छेउमा पुग्यो । उसले विनम्र भएर भन्यो, “उसको तर्फबाट म माफी माग्छु हजुर ! हजुरको लागि म आफै सर्भ गर्छु । भनिस्यो के लिइबक्सिन्छ ?’’

उसले केही मत्थरिलो स्वरमा भन्यो, “बाँकी पछि थपौंला, अहिलेलाई एक खिल्ली खुकुरी चुरोट र एक बोतल लोकल झट्टै ल्याउनुस् ।’’

No comments:

Post a Comment