अतित
-शरद राई
मरमा, मिरिक, दार्जीलिङ
वनपात झरेर सर्लङ भएको समय गाउँ फर्केको थियो साईला प्रायः दुई दशक बिते पछि ।
नचिन्ने भएछ गाउँ, धुले भएपनि नयाँ सडकको निर्माणले थप आकर्षण ल्याएछ गाउँमा । पलायन हुनबाट बाँचेकाहरु या थौरै दिनलाई गाउँ फर्केकाहरुको भने भटभटे हाँक्ने क्रेज बढेको रहेछ, यसलाई छुट्टै विशेषता भन्नुपर्ला गाउँ विकासको ।
निकै पर वरपिपलको छहरामुनिको काठको चौतारी भने अस्तित्वहिन रहेछ । साईला विदेश लाग्नु अघि यही चौतारी र वनपाखामा साईला र साईलीको प्रेम ढकमक्क फुलेको थियो । उसले त्यो अन्तिम भेट सम्झ्यो जहाँ साईलीले भनेको थियो– मायाले मात्र थाम्दैन संसार । चौतारीलाई सुमसुमाउँदा उसको आँखाबाट टपक्क खस्यो आँसु ।
आज साईलाले त्यही वरपिपलको साक्षी राखी भनी रहेको थियो– साईली के यो बीस वर्ष कमाएको धनले संसार थाम्छ त ?
यो समय न्याउलीले पनि भाका फेर्ने गर्छ, छेवैको कोईरालोको रुखबाट एक जोडी न्याउलीको कर्कस आवाज आइरहेको थियो जसले साईलाको चोखो प्रेमलाई नै गिज्याइरहेको प्रतीत हुन्थ्यो ।
हो आज साईला त्यही गाउँ वनपाखा चौतारीमा छ, ऊ सित मनग्गे धन छ तर संसार छैन भने यो कुरा बीस वर्ष अघि पोइल जाने साईलीलाई थाहा छ कि छैन ?
No comments:
Post a Comment