Tuesday, November 28, 2023

लघुकथा (अङ्क ६ मा प्रकाशित)

रिश्वतको मोह

-कर्ण दयाल ‘सोराडी’
मेलौली नगरपालिका ७, बैतडी  




हाकिमसा’बले तोक लाएर पठाएका सबै फाइलहरु केही प्राविधिक फाँटमा त केही लेखा फाँटमा आएर थन्किए । असार महिनाको दोस्रो हप्ताको समय थियो । सबै सेवाग्राहीले आ–आफ्ना योजनाहरु समयमै फरफारक गर्नु थियो ।

सेवाग्राहीहरुको ढोका–ढोकामा भीड लागेको थियो । लुकिछिपी झ्यालबाट फाइल दिनेहरुको काम फटाफट भइरहेको थियो । इन्जिनियर र लेखापालले प्रतिशतका कुरा गरिरहेको जानकारी बाहिरियो ।

सेवाग्राहीहरु आक्रोशित भए । उनीहरु नाराबाजी गर्न लागे । इन्जिनियर र लेखापालले खुलमखुल्ला भ्रष्टाचार गरिरहेका छन् भन्दै उनीहरुले कारवाहीको माग राखेर हाकिमसा’बलाई ज्ञापनपत्र बुझाए ।

हाकिमसाबले सेवाग्राहीहरुको मागलाई तदारुकताका साथ कार्यान्वयन गर्ने आश्वासन दिए । उनले आवेशको भावमा भने, “तपाईंहरु ढुक्क हुनुहोस् म यी दुई जनालाई कारवाही गर्छु ।”


सेवाग्राहीहरु हंसमुख बनाएर हाकिमसा’बको कक्षबाट बाहिरिए । मिडियाहरुले छयापछ्याप्ती समाचार छापे ।
इन्जिनियर र लेखापाल दुवै जना निकै डराए । भोलिपल्ट बिहानै दुवै जना हाकिमसा’बलाई भेट्न निवासमै पुगे । हाकिमसा’बले सेवाग्राहीको ज्ञापनपत्र र पत्रपत्रिकामा छापिएका सामाचारहरु क्रमशः दुवै जनालाई पढेर सुनाए ।

ती दुवै जना अझ झन् डराए । उनीहरुले रुँदै हाकिमसा’बको खुट्टा छोएर भन्न थाले, “हाकिमसा’ब आज एकचोटीलाई माफ पाउँ । आज उपरान्त हामी यस्तो गल्ती दोहो¥याउने छैनौं । हामी दुईको जागिर जसरी भए पनि बचाइ दिनुहोस् ।”

हाकिमसा’बले नरम हुँदै भने, “तपाईंहरुले त ठूलो गल्ती गर्नु भएको छ नि ! तपाईंहरु दुई जना मिल्ने, अनि मलाई मात्र छोड्ने ? मेरो पनि त हस्ताक्षर चल्छ । बिगे्रको यता हो, सच्चिनु होला, सबै कुरा मिल्छ ।”

No comments:

Post a Comment