लघुकथा, छोटाकथा तथा कथामा के फरक छ ?
- खेमराज पोखरेल
नेपाली साहित्यवृत्तमा लघुकथा, छोटाकथा तथा कथाका बारेमा सैद्धान्तिक तथा प्रायोगिक अलमल छ। अलमलभन्दा पनि नेपाली लेखक पाठक तथा समीक्षक सबैको अलगअलग विचार प्रकटीकरण हुँदै आएका छन् । यसो हुनु एकातर्फबाट स्वाभाविक हो । तर अर्कोतर्फबाट भन्ने हो भने लपसिक्खा लेखक कुहिरोको काग हुनु हो । यो स्वाभाविक किन हो भने जतिजति साहित्यको विकास हुँदै जान्छ त्यतित्यति साहित्यका विधामा उपविधा र प्रविधाहरू सिर्जना हुँदै जान्छन् । साहित्यका मूल्यमान्यता तथा आकारप्रकारमा पनि परिवर्तन हुन थाल्छ । भइरहेको उपविधामा विभाजन भएर प्रविधाको जन्म हुन्छ । समाज विकासको गतिमा यो सामान्य प्रक्रिया हो । यस्तो अवस्थामा पुरानो विचारबाट प्रभावित पाठक वा विवेचक वा लेखकले यो परिवर्तनलाई सजिलै आत्मसात गर्न सक्दैनन् । कुनै प्रविधाले मान्यता पाउन केही समय कुर्नुपर्ने पनि हुन सक्छ । कुनै जन्मिएका प्रविधाहरू समयको आरनमा रापिँदै पन्पिँदै वा हराउँदै पनि जान्छन् ।
यो आलेखमा म लघुकथा, छोटाकथा तथा कथामा पाइने आख्यामनात्मक स्वरुपगत भेदबारे मेरा विचारहरू प्रस्तुत गर्दछु । पृष्ठभूमिका रुपमा साहित्यका मूल ४ वटा विधा– पद्य, नाटक, आख्यान तथा निबन्धमध्ये आख्यान विधामा उपन्यास तथा कथा गरी दुई भेद छन् । सबै विधामा उपविधा र प्रविधाहरू छन् । प्रसङ्गअनुसार अब आख्यान विधाका बारेमा केही शब्दसीमाका पाश्चात्य प्रचलनलाई बुझौँ र आफ्नो भाषा तथा साहित्यको जगेर्ना आफैँले आफ्नोपनमा गरौँ भन्ने आग्रह हो ।
पश्चिमा साहित्यमा असी हजारभन्दा बढी शब्दका आख्यानात्मक उपन्यासलाई बृहत् उपन्यास भनिएको छ । त्यसै गरी पचास हजार शब्दभन्दा बढी र असी हजार शब्दभन्दा कमको आख्यानलाई उपन्यास भनिएको छ । बीस हजारभन्दा बढी र पचास हजारभन्दा कम शब्द सङ्खया भएका आख्यानलाई नोभेला (छोटो उपन्यास) मानिन्छ । सात हजार पाँचसय शब्दभन्दा बढी र बीस हजार शब्दभन्दा कमको आख्यानालाई नोभेलेत (लघुउपन्यास) मानिन्छ । टल्सटयको युद्ध र शान्ति बृहत् उपन्यास हो भने म्याक्सिम गोर्कीको आमा उपन्यास मात्र हो । चाल्र्स डिकेन्सको क्रिसमस क्यारोल नोभेला याने छोटो उपन्यासको उदाहरण हो । एडगर एलेन पो को ‘द फल अफ द हाउस अफ युजर’ नोभेलेत याने लघुउपन्यासको उदाहरण हो । यसैगरी पश्चिमा कथामा पनि अनेकौँ प्रभेद छन् ।
ठ्याक्कै ५० शब्दका कथालाई मिनी सागा भनिन्छ । १ सयभन्दा कम शब्दका आख्यानलाई माइक्रो फिक्सन (सूत्रकथा), ३ सयभन्दा कमको माइक्रो स्टोरी (लघुकथा), १ हजारभन्दा कमको फ्ल्यास फिक्सन (छोटाकथा), १ हजारभन्दा माथि बढीमा ७५०० सम्मको सर्ट स्टोरी (कथा) मानिएको छ । कथामा पनि १ हजारदेखि ४ हजार शब्दसम्मकालाई कथा र सोभन्दा बढी शब्दका आख्यानलाई बृहत् कथा भनिएको छ ।
माथि उल्लेख गरिएका शब्द सङ्ख्याका आधारमा गरिएका अङ्ग्रेजी आख्यानको विभाजन पनि विवादरहीत भने छैन । शब्द सङ्ख्यामा विवाद भए पनि नामाकरणमा भने खासै विवाद देखिँदैन । नेपालीमा प्रयोग भइरहेको लघुकथा र भारतमा प्रयोग भइरहेको लघुकथाका बीचमा पनि निकै ठूलो फरक छ । हिन्दीमा १ हजार शब्दसम्मका आख्यानलाई लघुकथा र सोभन्दा माथिका लाई ‘कहानी’ भनिन्छ । यसरी हेर्दा हिन्दी लघुकथाले अङ्ग्रेजीको फ्ल्यास फिक्सनको आधार लिएको देखिन्छ । त्यसकारण हिन्दी साहित्यमा लघुकथा अलि विस्तारित र लामो हुने गर्छ ।
तर नेपालीमा अधिकतम ३ सय शब्दभन्दा मुनिको आख्यानलाई लघुकथा मानिएको छ । यो शब्द सङ्ख्याका हिसाबले माइक्रो फिक्सनसँग मेल खान्छ । लघुकथामा पनि उठान उत्कर्ष र चातुर्य समापनको खोजी गरिन्छ ।
नेपाली साहित्यमा पनि विश्व साहित्यमा जस्तै १ हजारभन्दा बढी शब्दको आख्यानलाई कथा मानिएको छ । यो परिपे्रक्ष्यमा एउटा प्रश्न उठ्छ कि १ हजार शब्दभन्दा कम शब्दको आख्यान के हो ? कथा कि लघुकथा कि छोटाकथा ?
हो आख्यानको यही पृष्ठभूमिलाई विचार गर्दा संसारका अनेकौँ भाषामा विश्वसाहित्यलाई आधार मान्दै आफ्नै देश तथा भाषाअनुकूल आख्यानको वर्गीकरण गरेको पाइन्छ । त्यस कारण नेपाली भाषा साहित्यमा पनि हामी नेपालीले नै नेपाली साहित्यको फाँटमा आएका चुनौती स्वीकार गर्दै आख्यानको शब्दसङ्ख्या, आकार, कथानकको आयाम, पात्र प्रस्तुतिकरणका आधारमा नामाकरण गरिनु जरुरी हुन्छ । नेपाली आख्यान परम्परामा उपन्यास र कथा मात्र भनिआएको अवस्था छ तर अब समयको प्रवाह अगाडि बढिसकेको छ। धेरै लेखकले अलगअलग शैली तथा प्रकारका साहित्यिक सामग्री पस्किन थालेका छन् ।
नेपाली साहित्यमा पनि छोटाकथा भनेर नै कथासङ्ग्रह प्रकाशित भएका छन् । लघुकथा भनेर छोटाकथा पनि प्रकाशित भएका छन् । यस कारण हामी नेपालीले नै नेपाली साहित्यको मापक बनाउने हो । साहित्यका उपविधा÷प्रविधाको नेपाली नामाकरण तथा स्वरुप निर्धारण गर्ने हो । नेपाली साहित्य फाँटमा पनि सूत्रकथा, झिल्कोकथा, लघुकथा, छोटाकथा, कथा भनेर लेखिन थालेको पाइन्छ। यो परिप्रेक्ष्यमा छोटाकथा र लघुकथाको फरक तथा छोटाकथा तथा कथाको फरकबारे छोटो चर्चा गर्ने प्रयत्न गरेको छु । यद्यपि कथाको विषय भने सैद्धान्तिक रुपले प्रस्ट पारिएकै छ । आख्यानको कथ्य सिर्जनामा चाहिने आवश्यक तत्त्व कथानक, पात्र, शैली, बुनौट, थिम आदि कथामा कसरी प्रयोग गर्ने भन्ने विषय प्रस्ट छ ।
तर यता आएर लघुकथा तथा छोटाकथाको बीचमा भने धेरै अन्योल देखापरेको छ । शब्दगत अर्थले लघु र छोटाले दिने अर्थ एकै हो । तर भावगत अर्थ भने फरक पर्दछ । यी दुवैमा पहिलो फरक त अधिकतम शब्द सीमाको हो । नेपाली साहित्यमा प्रायः सबै स्रस्टा लघुकथाको शब्दसीमा ३ सयभन्दा कम हो भन्ने कुरामा एकमत हुन थाल्नुभएको छ । यद्यपि शब्द सीमा मात्रका कारणले लघुकथा वा छोटाकथा बन्ने भने होइन । तथापि आकार याने कि शब्दसीमा महत्वपूर्ण कडी भने हो । यसलाई नकार्न सकिन्न ।
१हजार शब्दभन्दा कम शब्दका आख्यानलाई छोटाकथा मानिनु सान्दर्भिक नै हुन्छ जस्तो लाग्छ मलाई । यद्यपि अङग्रेजी तथा हिन्दी लगायत विश्वका अनेकन भाषामा विभक्ति आदिलाई छुट्याएर लेख्ने प्रचलन छ । यसले अन्तर्राष्ट्रिय रुपमा गर्ने शब्दको वर्गीकरणमा केही फरक पर्नु स्वाभाविक हो । तर यहाँनजिक हामीले नेपाली मापक बनाउन खोजेका हुनाले ती कुरालाई हेक्का राख्नु पर्दैन । कुनै विदेशको परम्परा अनुशरण गर्नु पर्दैन ।
लुघकथा तथा छोटाकथालाई छुट्याउने मूल विषय भनेको पहिलो शब्दसीमा नै हो । अर्को तर ज्यादै महत्त्वपूर्ण कडी आख्यानको बुनौट हो । खास प्रकारका बुनौट भएका र ३ सय शब्दभन्दा कम भए पनि ती दुवै लघुकथा वा छोटाकथा जे पनि बन्न सक्छन् । लघुकथाले सामान्यतया ३ सय नाघ्नु हुँदैन भने छोटाकथामा १ हजार शब्दसम्म जाने सुविधा हुन्छ ।
लघुकथाको बुनौट निकै विशेष हुनुपर्दछ । लघुत्व, संक्षिप्तता, सूत्रता, वेगात्मकता, विपरीत भावमा अन्त्य, चस्स घोच्ने प्रतिध्वन्यात्मकता, कौतुहलता, हठात समापन आदि अपरिहार्य हुन्छन् भने छोटाकथामा ती विशेषता नहुँदा पनि हुन्छ। अझ प्रस्टसँग भन्ने हो भने छोटाकथा भनेको आकारमा सानो तर पूर्ण हुन्छ र यसले कथाका बुनौटका अवयवहरूलाई जस्ताको तस्तै अनुसरण गर्दछ । लुघकथामा घच्चीको कथानकसहितको विशिष्ट बुनौटको आधार महत्वपूर्ण हुन्छ भने कथामा कथानक महत्वपूर्ण हुन्छ । लघुकथा धेरै सीमाभित्र बाँधिएर लेख्नुपर्छ भने छोटाकथामा कम सीमा हुन्छन् । ३ सय शब्दभित्र लेखिएको आख्यान भन्दैमा बुनौटको कारणले लघुकथा नबन्न पनि सक्छ । लुघकथा नहुन पनि सक्छ। तर छोटाकथा नबन्ने सम्भावना कम हुन्छ । यसमा जोखिम कम हुन्छ। स्तरीय हुनु र नहुनु भनेको अर्कै शिल्पीय कुरा हो ।
यही पृष्ठभूमिमा म यहाँ कस्तो बनौटको आख्यान लुघकथा र कस्तो बुनौटको आख्यान छोटाकथा हुन्छन् भनी उदाहरण प्रस्तुत गर्न गइरहेको छु ।
मैले यहाँ बिएन पुस्तक संसार प्रालिले २०७६ सालमा प्रकाशन गरेको लघुकथाकार एकदेव अधिकारीको “भिखारी” लघुकथासङ्ग्रहबाट एउटा लघुकथा ‘पर्यावरण’ साभार गरेको छु ।
लघुकथा – पर्यावरण
– एकदेव अधिकारी
जिल्ला बन कार्यालयको पियन धनवीरको कार्यालयले उसको विगतको तीस वर्षको कार्यकालमा धेरै हाकिमहरू, मन्त्रीहरू तथा रेञ्जर तथा फरेस्टरहरू बेहोरिसकेको थियो ।
निर्वाचनपछि बनेको सरकारमा त्यहाँ जिल्लाका नेताले बन मन्त्रालयको जिम्मेवारी पाए । धनवीरले पनि हाहिमहरू तथा बनरक्षकहरूको नयाँ डम्फा लिई स्वागत गर्ने मौका पायो ।
‘धनवीर, हामी सबैले अआफ्नो काम पूर्ण इमानदारीका साथ गर्नुपर्छ ।’ बनरक्षकको मुखबाट सुनेपछि धनवीर सोच्न थाल्यो — बनरक्षक त यस्तो पो हुनुपर्छ ।
हाकिमले पहिलो बैठकमा चोरी सिकारीलाई निरुत्साहित गर्ने कार्ययोजना प्रस्तुत गरे । धनवीर सोच्न थाल्यो — हाकिम त यस्तो पो हुनु पर्दछ।
‘वन्यजन्तु हाम्रो पर्यावरणको अभिन्न अङ्ग हो । चोरी शिकारी नियन्त्रण गर्न सरकारी तवरबाटै पहल गरिने छ ।’ वन्यजन्तु संरक्षण सप्ताहको समापन कार्यक्रममा मन्त्रीको भाषण सुनेपछि धनवीर सोच्न थाल्यो — मन्त्री त यस्तो पो हुनुपर्दछ ।
वन्यजन्तु संरक्षण सप्ताहको समाप्तिपश्चात् जिल्लाको एकतारे होटलमा खानपान आयोजना गरियो । मन्त्रीले हाकिमलाई बोलाएर निर्देशन दिए। हाकिमले वनरक्षकलाई इसारा गरे । वनरक्षकले धनवीर भए ठाउँ आएर भन्न थाल्यो — धनवीर, मन्त्रीज्यूलाई ढिलो भइसक्यो रे । अनि गुपचुप पनि राख्नुपर्छ। जो पायो त्यहीलाई पठाउन पनि भएन । जाऊँ हिँड, तिमी र म। मृगको ताजा मासु र बँदेलको सुकुटीको भान्सा तयार गर्नु छ।
उक्त लघुकथामा १९३ शब्द छन् । शब्दसीमाका हिसाबले ३ सयभित्र छ । कथाको मुख्य पात्र धनवीरको केन्द्रमा कथा बुनिएको छ। कथाको आरम्भमा निर्वाचनपछि बनेको सरकारका मन्त्री हाकिमहरूको बनसंरक्षण गर्ने र पर्यावरण जोगाउने सकारात्मक उद्घोषबाट कथा सुरु हुन्छ । तर वन्यजन्तु संरक्षण सप्ताहको समापन कार्यक्रममा पुगेका मन्त्रीले कथाको समापनमा आइपुग्दा मृगको आलो मासु खान खोजेको छ । कथाको सुरुको आशयभन्दा विपरीत भावमा समापन भएको छ । समापनले हठात अन्त्य गरेर पाठकलाई कौतुहलतामा राखेको छ । “धनवीर, मन्त्रीज्यूलाई ढिलो भइसक्यो रे । अनि गुपचुप पनि राख्नुपर्छ । जो पायो त्यहीलाई पठाउन पनि भएन । जाऊँ हिँड, तिमी र म । मृगको ताजा मासु र बँदेलको सुकुटीको भान्सा तयार गर्नु छ ।” यो विज वाक्य हो । यो कथानकमा एउटै घटनाको एउटै पात्र मन्त्रीको दुई रुप देखाइएको छ । दुई रुप देखिनु लघुकथाको विशेषता हो । यो लघुकथा पढिसकेपछि पाठकमा प्रतिध्वन्यात्मक ध्वनि गुञ्जायमान हुन्छ । थोरै शब्दमा मन्त्रीको चर्तिकलालाई स्वादिलो तरिकाले प्रस्तुत गरिएको छ । चोटिलो चखिलो र स्वादिलो छ । त्यसकारण यो पूर्ण लघुकथा हो ।
अब सो लघुकथालाई पुनरनिर्माण गरेर हेरौँ —
छोटाकथा
पर्यावरण
जिल्ला बन कार्यालयको पियन धनवीरको कार्यालयले उसको विगतको तीस वर्षको कार्यकालमा धेरै हाकिमहरू, मन्त्रीहरू तथा रेञ्जर तथा फरेस्टरहरू बेहोरिसकेको थियो ।
निर्वाचनपछि बनेको सरकारमा त्यहाँ जिल्लाका नेताले बन मन्त्रालयको जिम्मेवारी पाए । नयाँ वनमन्त्रीले कार्यालयमा पुरानालाई हटाएर नयाँ हाकिम तथा रेञ्जर तथा फेरेस्टरहरूको व्यवस्था गरे ।
धनवीरले पनि हाकिमहरू तथा बनरक्षकहरूलाई स्वागत गर्ने मौका पायो ।
‘धनवीर, हामी सबैले अआफ्नो काम पूर्ण इमान्दारिताका साथ गर्नुपर्छ ।’ नयाँ रेञ्जरको मुखबाट सुनेपछि धनवीर सोच्न थाल्यो — वनरक्षक त यस्तो पो हुनुपर्छ । पहिलेका त सबै घुस्याहा ।
हाकिमले पहिलो बैठकमा नै चोरी सिकारीलाई निरुत्साहित गर्ने कार्ययोजना प्रस्तुत गरे । धनवीर सोच्न थाल्यो — हाकिम त यस्तो पो हुनु पर्दछ ।
‘बन्यजन्तु हाम्रो पर्यावरणको अभिन्न अङ्ग हो । चोरी शिकारी नियन्त्रण गर्न सरकारीतबरबाटै पहल गरिने छ ।’ वन्यजन्तु संरक्षण सप्ताहको समापन कार्यक्रममा मन्त्रीले भाषण गरे ।
मन्त्रीको भाषण सुनेपछि धनवीर सोच्न थाल्यो — मन्त्री त यस्तो पो हुनुपर्दछ।
वन्यजन्तु संरक्षण सप्ताहको समाप्तिपश्चात् मन्त्री कार्यालयकै सामान्य गेस्टहाउसमा बसेका थिए । वनरक्षकले एक जोडी वन्यजन्तु तस्करलाई समाएर हाकिमसमक्ष पेस गरे । तिनलाई छुटाउन जिल्लाको नेता आएका थिए । हाकिमले मन्त्रीसमक्ष ती नेतालाई पठाइदिए। जिल्लाको नेतालाई मन्त्रीले भने — नेताज्यू, आफ्नो देश हामी आफैँले बनाउने हो । यसरी बनतस्करलाई गैरकानुनी तरिकाले छुटाउन नआउनू । अब समयसँगै हामी पनि फेरिनु पर्दछ ।
ती नेता कालो मुख लगाएर फर्केर गए। यता मन्त्रीको काम देखेर धनवीरले मनमनै भन्न थाल्यो — मन्त्रीजी जिन्दावाद। अब भने देश बन्छ बन्छ।
जिल्लाका जनता हृदयदेखि नै नारा लगाइरहेका थिए — मन्त्रीज्यू जिन्दावाद ।
उक्त आख्यानमा २४६ शब्द छन् । याने कि लघुकथाको मापक अधिकतम ३ सय शब्दभन्दा कम शब्द नै छ । आकारमा पनि लघु छ तर यो बुनौटको हिसाबले लघुकथा होइन । यो छोटाकथा हो । त्यसैले शब्द सङ्ख्या ३ सय भित्र हुँदैमा लघुकथा हुन्छ भन्ने कुरा आउँदैन । यो कथा किन लघुकथा होइन भने यसले विपरीत भावमा समापन गर्दैन । कौतुहलता पनि छैन । कथामा पात्रका दुई रुप पनि छैनन् । कथा पढिसक्दा पनि पाठकले कौतुहलता वा प्रतिध्वन्यात्मकता भेट्दैन । तर यो पनि आख्यानको एउटा प्रविधा त हो नि । त्यसकारण मेरा विचारमा यो लघुकथा नभएर छोटा कथा हो ।
यसो भनिरहँदा मुख्य रुपले दुइटा प्रश्न उत्पन्न हुन्छ । पहिलो प्रश्न — के छोटाकथा भनेको लघुकथा बन्न नसकेका रद्दी वस्तु आफल्ने ठाउँ हो ? दोस्रो प्रश्न — के लघुकथाभित्र छोटाकथा अटाउन सक्छ वा छोटाकथाभित्र लघुकथा अटाउँन सक्छ ?
पहिलो प्रश्नको सन्दर्भमा भन्नु पर्दा स्रष्टाले आत्मा लेखेको कुरा रद्दी हुन सक्दैन । त्यो आकार तथा स्वरुपका कारणले लघुकथा वा छोटाकथा जे भए पनि आफल्ने रद्दी वस्तु हुन सक्दैनन् । स्तरीय हुनु र कम स्तरीय हुनु आफ्नो ठाउँ तथा सन्दर्भको कुरा हो । स्रष्टाको सीपको कुरा हो । साधना तथा प्रस्तुतिको कुरा हो । दोस्रो प्रश्नको सन्दर्भमा लघुकथा र छोटाकथा बुनौट तथा शब्दसीमाका आधारमा अलगअलग र पूर्ण प्रविधा हुन् । एकदम सहज कुरा त लुघकथा र छोटाकथाको अलग अस्तित्व स्वीकार गरेर त्यसैअनुसार साधना गर्नु नै हो । तर पनि यदि कसैले लघुकथा लेखेर यो छोटाकथा हो भनियो भने पनि छोटाकथाको व्यापक फ्रेममा कुनै कुनामा बस्न सक्छ । तर लघुकथाको बुनौटमा धेरै सीमा भएकाले र छोटाकथा अलि खुकुलो भएकाले लघुकथाभित्र छोटाकथा भने कुनै हालतमा अटाउँदैनन् ।
अब अन्त्यमा लघुकथा तथा छोटाकथाको विभेद नबुझी राम्रा लघुकथा वा छोटाकथा लेख्न कठिन हुन्छ। त्यस कारण नेपाली साहित्यको आख्यान फाँटमा तन्मयका साथ लागेका सम्पूर्ण स्रष्टाले छोटाकथा र लघुकथाको बारेमा सजग भएर छलफल गरौँ । लघुकथा तथा छोटाकथा दुवैलाई शुद्ध बनाऔँ भन्ने मेरो छोटो आग्रह हो । ‘सानो मुख, ठूलो कुरा’ भएको भए क्षमा चाहन्छु ।

No comments:
Post a Comment