बात
-शान्ति भण्डारी दहाल
बुद्धनगर, काठमाडौँ
बाघले बाख्रालाई झम्टेझँै झम्टिँदै जुनुले भनी— “ए डङ्किनी ! तैँले आफ्नो लोग्नेलाई त खाइस्, खाइस् । अब मेरो लोग्नेलाई खोस्न लागिस् हैन ? पखेस् तँ पातर्नीको उठिबास लगाउन सकिनँ भने मेरो नाम पनि जुने होइन् बुझिस् ?”
रमाले आँसु झार्दै भनिन्— “दैवले खेदो खनेको मान्छेलाई भुसुनासम्मले पनि खेदो खन्दोरहेछ । बीच बाटोमा के तमासा गर्नुभएको ? घरमा गएर ठन्डा दिमागले सोच्नुहोस् म गएँ ।”
जुनु च्याँठिई— “जो चोर उसैको ठूलो स्वर’ भनेको यही हो । लोग्ने मरेको दुई वर्ष पुगेको छैन । तँलाई अर्काको पोइ चाहिएको मुर्दार ! हावा नलागी कहीँ पात हल्लिन्छ ? अस्ति बाटोमा लठारिएको सुधाले देखेकी थिई अरे । सधैँ रातिराति उनी कहाँ मर्छन् त हँ ?”
‘म सधैँ त बोल्थेँ नि अब बोल्न पनि नहुने भयो हैन ?’ भन्दै छटपटिँदै रमा घर आइन् । समय बितिरह्यो । एक साँझ लोग्ने घरबाट निस्केपछि जुनु पनि पछिपछि निस्किई । ‘आज तँ पातर्नीलाई रङ्गे हात पक्रिन्छु’ भन्दै रमाको घरमा पसी । भित्रबाट गुनगुन आवाज आइरहेको थियो— “यो घर हामीलाई अलि सस्तोमा दिनुको ठूलै कारण रहेछ नि गाँठे !”
“होइन के कारण रहेछ दाई ?” रमेशले प्रश्न गरे ।
गोपालले भने— “कुनचाहिँ पत्रु आइमाईले यो घर बेच्ने दिदीलाई आफ्नो लाग्नेको बात लगाइछ । दाईचाहिँले टुहुरी बहिनीको पीडा हेर्न नसकेर आफ्नो नजिकै घर किनिदिएछन् । त्यसैले यो घर हतारमा बेचेका रहेछन् । यो घर बेच्ने बहिनी र उनको छोराको सधैँ जय होस् । हाम्रो भाग्य भने बलेकै हो गाँठे !”
No comments:
Post a Comment