Tuesday, November 28, 2023

लघुकथा (अङ्क ६ मा प्रकाशित)

चोर

-वसन्त अनुभव
घोराही १४, दाङ 


"चोर आयो । चोर चोर ।’’ बाहिरबाट चर्को आवाज आयो ।
“खै चोर ? कहाँ छ ?’’ म अतालिँदै बाहिर निस्किएँ ।
“चोर पनि कुरेर बस्छ त हजुर ? भाग्यो नि उतातिर ।’’ अपरिचित व्यक्तिले मलाई हेर्दै बोल्यो ।

“पकड्नु पर्दैन् । अनि तपाईं को हो ? मैले त चिन्न सकिनँ नि ।’’ मैले जिज्ञासा राखेँ ।

“खासमा म तपाईलाई भेट्न आएको । म झुल्के गाउँको .... ।’’ उसले आफ्नो परिचय दिंदै थियो । उसलाई बीचैमा रोकेर आत्तिँदै मैले भने,– “ठिक छ, ठिक छ । परिचय गर्दै गरौँला । तपाईं अहिले बस्दै गर्नुहोस् । म चोर समात्न जान्छु । तु गएर आइहाल्छु ।’’

चोरको खोजीमा यताउता दौडेर हठात् म, चोर नभेटेपछि घर फर्किएँ । घरमा उक्त अपरिचित व्यक्ति थिएन, साथमा घरका बहुमूल्य वस्तु पनि ।

भुइँमा पट्टाइएको कागज देखेँ । उठाएर पढ्दा स्तब्ध भएँ । जसमा लेखिएको थियो, “अरे मूर्ख चोरलाई घर जिम्मा लगाएर कहाँ हिँडेको?’’

No comments:

Post a Comment