Saturday, November 18, 2023

लघुकथा (अङ्क १ मा प्रकाशित)

लेनदेन

-प्रभात दुबे
भारत

रातको करिब साढे नौ बजेको थियो । तरकारी बजार धेरै अँध्यारो भइसकेको थियो । उज्यालो कम । प्रायः सबै पसल बन्द भइसकेका थिए ।

रमेशबाबुले तरकारी बजारको पूरै एक फन्को लगाए र एउटी वृद्ध महिलाको बन्द हुनै लागेको तरकारी पसलसामु उनले आफ्नो साइकल रोके । सो पसलका सबै तरकारी पहिला नै बिक्री भइसकेका थिए । केवल एउटा टोकरीमा थोरै पालुंगो राखिएको थियो । जसलाई देखेर रमेशबाबुले सोधे, “आमा, पालुंगो किलोको कसरी हो ?”

“बाबु, दिनभरि १५ रुपैयाँ किलो बेचेँ, अब घर जाने बेला भयो, १० रुपैयाँ किलोमा दिन्छु, लैजानू ।”

“ठीक छ, एक किलो दिनू”, रमेशबाबुले हतारमा भने ।
तरकारी पसल सञ्चालन गर्ने महिलाले अँध्यारोको फाइदा उठाइन् र तराजुको पल्ला तल झुकाएर तीन पाउ पालुंगोलाई एक किलो बताउँदै हतार–हतार रमेशबाबुको झोलामा राखिदिइन् ।

रमेशबाबुले पनि चाँडै तरकारी पसलेको हातमा १० रुपैयाँ राखिदिए र तीव्र गतिमा साइकल कुदाउँदै गन्तव्यतिर लागे ।

घर फर्किने बेला तरकारी पसले धेरै खुसी देखिइन् किनकि ५ रुपैयाँको पालुंगोलाई उनले १० रुपैयाँमा बेचेकी थिइन् । उता साइकल चलाउँदै आत्मसन्तोषले भरिएको अनुहारमा विजयी भाव बोकेर रमेशबाबु मनमनै सोचिरहेका थिए, “आज मेरो १० रुपैयाँको नोट तह लाग्यो, तीन दिनदेखि यो नोट कसैले पनि लिन मानिरहेका थिएनन् । तर आज क्षणभरमै चल्यो ।”

यसरी एकले अर्कालाई बेवकुफ बनाउने यो लेनदेनले दुवै जनालाई रोमाञ्चित तुल्याइरहेको थियो ।

No comments:

Post a Comment