रहस्य
-गंगा खड्का
बूढानीलकण्ठ, काठमाडौँ
"तिमीबिनाको पल त मेरो लागि धड्कनबिनाको मुटुजस्तै हुन्छ ।’’ उसले सधैँ मसँगको भेट वा वार्तामा भन्थी ।
“मलाई पाइनौँ भने के गछ्र्यौ ?’’
“तिम्रो घरको ढोकामा झुण्डेर मर्दिन्छु ।’’ मेरो प्रश्नको उत्तरमा ऊ गुराँसजस्तै रातोरातो मुख बनाएर रुन्चे स्वरमा भन्थी ।
उसले मात्रै होइन म पनि उसलाई आफूलाईभन्दा बढी माया गर्थे । रहँदा बस्दा मेरो परिवारको कमजोर आर्थिक अवस्था उसको र मेरो प्रेममा तगारो बन्यो । उसको सिउँदो पराइको हातले हालेको सिन्दुरले सजियो ।
उसको र मेरो भेट नभएको वर्षौँ भइसकेको थियो । एकपटक एक्कासि हाम्रो भेट काठमाडौँको व्यस्त सडकको जाममा भयो । उसले मलाई जन्मजात शत्रुलाई जसरी रिसाएर क्वारक्वार्ती हेरी । म अन्जानमै मुस्कुराएँ तर उसले मुन्टो बटारी ।
एकैछिनमा ट्राफिकले सुइँ®य सिट्ठी फुकेपछि ऊ चढेको मोटरसाइकल हुइँकियो । म पछाडि फर्केर हेर्दै थिएँ, ऊ एकाएक मेरो आँखाबाट ओझेल परी ।
मन भारी भयो । म सोफामा पल्टेँ र विगतसँग हराउन थालेँ ।
“ए साँच्ची ! आज बुबाको दराजका लुगा मिलाइदिँदा, तपाईंको नामको चिठी भेटेको थिएँ ।’’ बुढीको बोलीले म झसङ्ग भएँ ।
बाहिर खाममा पठाउनेको नाम थिएन । हत्तपत्त खोलेर हेरेँ । उसैले ११ वर्ष अगाडि पठाएकी चिठी रहेछ ।
लेखिएको रहेछ, “तिमीबिना मेरो जीवन सम्भव छैन । तिमी भोलि बिहानै बसपार्कमा आऊ । तिमी र म भाग्नुपर्छ ।’’
चिठीको अर्कोपट्टि मेरा स्वर्गीय बुबालाई मलाई सम्बोधन गर्दै लेख्नुभएको रहेछ, “मलाई माफ गरिदे छोरा । तँलाई तह लाउनको लागि उसका परिवारले ठाउँ ठाउँमा गुण्डा राखेका छन् रे । त्यही भएर तेरो हातमा पर्नुअगाडि नै चिठी लुकाइदिएँ ।’’
No comments:
Post a Comment