Tuesday, November 21, 2023

लघुकथा (अङ्क ३ मा प्रकाशित)

पानी

-गजल आचार्य
गोलबजार, सिरहा 


 "म तरल बन्न सक्छु । पहाड हुन सक्छु । मलाई के बनाउने त्यो तिमीहरुकै हातमा छ ।" राक्षसले विनम्रतापूर्वक भन्यो ।
“हाम्री गाउँले दिदीलाई चवाएर निलिस् । अहिले साधु बनेको नाटक रच्छस् ?" गाउँलेहरुले ढुङ्गामुढा वर्षाउँदै भने ।

राक्षस रिसाउँदै गयो । ऊ अजङ्गको हुँदै गयो । मानिसहरुले वर्षाउन छाडेनन् । ऊ शैलुङ पर्वतझैँ विशाल भयो । मानिसहरु डराएर भागे । चारैतिर राक्षस भय फिँजियो ।

राक्षसको रीस मरेको थिएन । एउटा केटो गएर राक्षसको गोडा पक्रियो । राक्षस शान्त हुँदै सानो भयो ।
“तँ मकहाँ किन आइस् ?" राक्षसले सोध्यो ।
केटोले भन्यो; “मलाई मेरी आमालाई झैं मृत्यु देऊ ।“
“काल नआएकालाई खान मलाई अनुमति छैन ।" राक्षसले भन्यो ।

“म आमा छोड्न सक्दिनँ । उपाय बताऊ ।"
केटाको उत्तरले राक्षस झन् सानो भयो ।
केटाले रुँदै आमालाई पुका-यो । राक्षसको मन पग्लियो । ऊ पानी बन्यो र कहिल्यै नफर्कने गरी बगेर गयो ।

No comments:

Post a Comment