अयोग्य लडाकू
-डा. हिमलाल श्रेष्ठ
अश्राङ्ग,गोरखा, हालः कटुन्जे, भक्तपुर
कृष्णराम ओहोर दोहोर गरी रहन्छन्– मनमा त्रास अनि हूटहुटी दुबै बोकेर घरि वल्लो छेउ घरि पल्लो छेउ गरेर आफ्नै आँगन नापी रहन्छन् । जाउँ भने पल्लो गाउँमा आर्मीको गस्ती आएको भर्खर खबर छोडेर गयो बिर्खे दाई । नजाउँ भने मनले मान्दैन ।
हजुर बाको चाल हेरिरहेको बखते उठेर छेउमा गएर सोध्यो– हजुरबा के भो ? किन यताउता गरिरहनु भएको?
बखते उमेरले सानो भएपनि पाको मान्छे जस्तो कुरा गर्छ, मेहनती छ, स्कुलमा पनि गुरुहरुले भनेको मान्छ, लेखपढ गरेर जान्छ र शिक्षक शिक्षिकाको वाहवाही बोकेर घर आउँछ ।
कृष्णरामको मनले अझै नमाने पनि परिवेशलाई बुझेर बखतेलाई पल्लो गाउँसम्म पठाउने सकसपूर्ण निर्णय गर्न बाध्य भयो ।
बखते सानै थियो, कसैको शङ्का पनि भएन । को आयो ? किन आयो ? कसलाई भेट्यो ? कसैलाई मतलब नै भएन ।
बखतेले हजुरबाले भनेको व्यक्तिलाई भेटेर चिठी दिएर घर फर्केपछि कृष्णराम ढुक्क भयो ।
उता बखतेले दिएको चिठी हेरेपछि साग र ढिंडो पस्कंदै गरेका लडाकूहरुले कासन सुने– हामी अब पाँच मिनेटमा सेल्टर बदल्दैछौं, सबै जना तयार हुने ।
घाराक घुरुक दैलो खोलेर लडाकुहरु दौडिए, कहाँ गए पत्तै भएन । घरबेटी बा हेरेको हेरै भए, उनको मुखबाट वचन फुट्दै फुटेन ।
लडाकूहरु निस्केको पाँच मिनेटपछि आर्मीहरु आए, केरकार गरे, र लडाकूहरुलाई खान खुवाएको र सेल्टर दिएको आरोप लगाएर घरबेटीलाई झाँगल झुंगल पारेर लगे ।
उता निस्केका लडाकूहरुको ज्यान बचेको खबर पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म फैलियो ।
लडाकूहरु हरेक चोटी त्यो गाउँमा पुग्दा कृष्णरामको घरमा पुग्थे र बखतेको कामको सराहना गर्थे ।
बिस्तारै बखते उमेरले कम भएपनि देश, समाज र परिवेश बुझ्ने भइसकेको थियो । समयको मागसँगै उसले एउटा निर्णय लियो । पार्टीले पनि उसको कामको लगाव देखेर धेरै काममा लगायो । उमेर हेरेर उसको महत्वपूर्ण काम गथ्र्यो । समाचार सूत्रको काम उसको हुन्थ्यो ।
पछि पार्टीले आफ्नो नीति परिवर्तन ग¥यो । अनमिनको मध्यस्थता स्वीकारेर सत्ता पक्ष र पार्टी दुबैले अगाडि बढ्ने निर्णय लियो ।
अनमिनले पार्टीले भनेको सङ्ख्याको हतियार, लडाकुहरुको वर्गीकरण गरेर तत्कालीन अवस्थामा उमेरको हद कम भएकोले अयोग्य लडाकूको सूची निकाल्यो । त्यही सूचीमा बखतेले आफ्नो नाम पनि देख्यो र आफ्नो काम र काम पछि लडाकूहरुले गरेको तारिफ सम्झ्यो । समाचारवाहक बन्दा योग्य अहिले अयोग्य?
No comments:
Post a Comment