* * * * * * * * * * * * * * * *
लेखक परिचय
आमा विनितादेवी तथा बुबा प्रमानन्द भण्डारीको सुपुत्रका रुपमा साहित्यकार हरिप्रसाद भण्डारीको वि.सं. २०१६ जेठ ५ गते गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका ५, वस्तुमा जन्म भएको हो । आफ्नो बाल्यकाल धुर्कोटमै बिताउनु भएका उहाँ अहिले पत्नी श्रीमती मीना भण्डारी सहित तिलोत्तमा न.पा.– ८, दीपनगर, रुपन्देहीमा बस्दै आउनु भएको छ । उहाँको परिवारमा छोरा सुमन, पवन ‘किरण’ र कृष्ण तथा बुहारी रुपसी र सपना तथा नातिनी नाति आर्या, रोज र आदित्य रहेका छन् ।
शैक्षिक योग्यताको हिसाबले जनप्रशासन र नेपालीमा डबल स्नातकोत्तर गरिसक्नु भएका उहाँले हाल दर्शनाचार्य (एम फिल), विद्यावारिधि अध्ययनरत हुनुहुन्छ । विद्यार्थीकालदेखि नै साहित्यमा विशिष्ट लगाव राख्नु हुने उहाँको पहिलो प्रकाशित रचना भने वि. सं. २०४१ चैत्र २ गते पाल्पाबाट निस्कने सत्य समाचार साप्ताहिकमा प्रकाशित भएको ‘तीन टुक्रा’ कविता थियो । त्यसै गरी उहाँको पहिलो कथा भने‘म हिजो र आज’ मातृभूमि साप्ताहिकमा वि.सं. २०४२ श्रावण २९ गते प्रकाशित भएको थियो । त्यसै गरी लघुकथा चाहिँँ उत्साह साहित्यिक मासिक (वर्ष १२ पूर्णाङ्क ५० मिति २०४६ पुसमा प्रकाशित भएको ’कुकुर तिहार’ हो । अहिलेसम्म उहाँका थुप्रै कृतिहरू सार्वजनिक भइसकेका छन्
त्यसै गरी उहाँले विभिन्न साहित्यिक पत्रपत्रिका तथा स्मारिकाहरू सम्पादन गरिसक्नु भएको छ । आफ्नो साहित्यिक अनुभवलाई उहाँले विगत चार दशकदेखि अनवरत रुपमा साहित्य लेखन तथा सम्पादनमा सक्रिय बनाउँदै आउनु भएको छ । यसरी विभिन्न विधाहरूबाट साहित्यिक योगदान पु-याएवापत उहाँले थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएको छ । 
उहाँले नेपालका करिब ६० जिल्लाहरू तथा विदेशमा भारत, चीन, सिङ्गापुर, बेलायत, अमेरिका, अष्ट्रेलिया, कतार आदि मुलुकहरूमा भ्रमण गरिसक्नु भएको छ । लामो समय राष्ट्रसेवामा समर्पित उहाँले नेपाल सरकारको प्रमुख जिल्ला अधिकारी पदबाट सेवा निवृत्त भई हाल अध्ययन, अनुसन्धान तथा लेखन कार्यमा सक्रिय रहँदै आउनु भएको छ । उहाँसँग ’लघुकथा संसार’का स्तम्भकार गोमविक्रमले लघुकथामा केन्द्रित रहेर गर्नु भएको कुराकानीको अंश यसप्रकार रहेको छ ः
* * * * * * * * * * * * * * * *
गोमः लघुकथा के हो ? उत्कृष्ट लघुकथा हुन के कस्ता गुणहरू हुनुपर्ला ?
हरिः लघुकथा लघु आयाममा लेखिने त्यस्तो कथा हो जो आकारमा छोटो भईकन पनि भावमा पूर्ण हुन्छ । यो कुनै कथाको सारांश पनि होइन र यसलाई बढाएर कथा बनाउन पनि सकिँदैन । आकस्मिक रूपमा उठान भई अल्प समयमा उत्कर्षमा पुग्ने र अप्रत्याशित रूपमा कुनै सन्देशात्मक झट्का दिएर अन्त्य हुने छोटो आकारको कथा नै लघुकथा हो ।
उत्कृष्ट लघुकथा हुनका लागि लघुकथाका तत्त्व तथा विशेषतालाई ख्याल गर्दै लेखिएको र पटक पटक लघुकथाकार आफैंले परिमार्जन गरी अन्तिम सम्पादन गरिएको हुनुपर्छ जस्तो लाग्छ मलाई ।
गोमः अहिले लेखिएका लघुकथाहरूको कमजोर पक्ष ? अथवा लघुकथाका चुनौतीहरू ?
हरिः अहिले नेपाली भाषामा लघुकथा लेख्ने लघुकथाकारहरूको सङ्ख्या धेरै छ । अहिले लेखिने लघुकथाहरू विविध विषय र क्षेत्र समेटेर लेखिएका छन् यी सबै राम्रा पक्ष हुन् । लघुकथा लेखिनु र प्रकाशन गर्नु राम्रो पक्ष हो तर लघुकथालाई सम्पादन गरेर राम्रो पार्नु उत्तिकै आवश्यक हुन्छ । हिजो आज सामाजिक सन्जालहरूमा प्रकाशित भएका लघुकथाहरू हेर्दा यसबारे कतिपय लघुकथाकारहरूको ध्यान नगएको हो कि भन्ने पनि देखिन्छ । लघुकथा लेख्नासाथ सामाजिक सन्जालमा पोष्ट गर्ने हुटहुटीले गर्दा पनि यस्तो भएको हो कि ! कुनै पनि रचना लेखेपछि सम्बन्धित विधाको सैद्धान्तिक पक्षलाई समेत आधार बनाएर सम्पादन गर्नु आवश्यक हुन्छ । भाषाशैली पनि लघुकथाको प्राण हो । यस कुरामा पनि ध्यान जानु जरुरी हुन्छ । लघुकथाको अहिलेको मुख्य चुनौति भनेकै गुणात्मक विकास हो भन्ने लाग्छ मलाई ।
गोमः नेपाली लघुकथाको अवस्था कस्तो छ विश्व साहित्यको बजारसम्म पुर्याउन के गर्न सकिएला ?
हरिः नेपाली लघुकथाको वर्तमान अवस्था सन्तोषजनक छ । वि.सं. २००७ सालदेखि लघुकथा लेखनको औपचारिक सुरुवात भएको मानिन्छ । २००७ सालदेखि आजसम्म सयौँको सङ्ख्यामा लघुकथासङ्ग्रहहरू र हजारौँको सङ्ख्यामा फुटकर लघुकथाहरू प्रकाशित भएका छन् । साहित्यिक पत्रपत्रिकाहरूले लघुकथालाई विशेष महत्वका साथ प्रकाशित गर्ने र कहिलेकाहीँ लघुकथा विशेषाङ्क समेत प्रकाशित गर्ने काम पनि गरेका छन् । लघुकथाको सैद्धान्तिक परिचयबारे छलफल तथा बहस हुने गरेका छन् । लघुकथाका सैद्धान्तिक पुस्तक तथा फुटकर आलेखहरू प्रकाशित भइरहेका छन् । सामाजिक सञ्जालहरूमा विभिन्न समूह बनाई लघुकथा प्रकाशित गर्ने, सुझाव आदानप्रदान गर्ने, छलफल गर्ने काम पनि भइरहेका छन् । यदाकदा लघुकथा प्रतियोगिताहरू पनि हुने गरेका छन् । नेपाली लघुकथासम्बन्धी अनुसन्धानका काम पनि भइरहेका छन् । यी सबै अवस्था हेर्दा नेपाली लघुकथाको वर्तमान अवस्था सन्तोषजनक रहेको निष्कर्ष निकाल्न सकिन्छ ।
लघुकथालाई विश्व साहित्यको बजारसम्म पु¥याउनका लागि के गर्न सकिएला भन्ने जुन प्रश्न छ यो अति आवश्यक र गम्भीर पनि छ । मेरो विचारमा यसको लागि पहिले लघुकथाको गुणात्मक पक्षलाई बलियो बनाउनुपर्छ । कुनै अनुवादक तथा पाठकलाई कुनै लघुकथा राम्रो लाग्यो, मन छोयो भने विस्तारै यसको प्रचारप्रसार हुन थाल्छ र यसको पाठकीय क्षेत्र विस्तारै बढ्दै जान्छ । अहिले नेपाली लघुकथाहरू हिन्दी, पन्जावी, बङ्गाली आदि भाषामा अनुवाद गरी प्रकाशित हुने क्रम जारी छ । भारतीय कतिपय पत्रिकाहरूले नेपाली लघुकथालाई आफ्नो भाषामा अनुवाद गरेर प्रकाशित गरेका पनि छन् । त्यसैले हामी सबैले आआफ्नो ठाउँबाट पहल ग-यौं भने हामी विश्वबजारसम्म पुग्न सक्छौं । हाम्रा लागि विश्वबजार धेरै टाढा छैन ।
गोमः हजुरको अहिलेसम्मको अनुभवमा स्मरणीय लघुकथा ः आफ्नो अथा अरुको सङ्ग्रह कुन होला ? कारणसहित जान्न पाए हुन्थ्यो नि ?
हरिः मैले माथि पनि भनिसकेको छु, नेपाली भाषामा हाल सयौँको सङ्ख्यामा (करिब ४००) लघुकथासङ्ग्रहहरू प्रकाशित भएका छन् । सङ्ग्रह प्रकाशन गर्ने र फुटकर रुपमा लघुकथा लेख्ने लघुकथाकारहरूको सङ्ख्या पनि धेरै नै छ । त्यसैले यहाँ ती लघुकथासङ्ग्रह र लघुकथाकारहरूको नाम लिन थालियो भने उत्तर लामो हुन सक्ला । अनुसन्धानका क्रममा मैले नेपाली भाषामा लेखिएका धेरै पुस्तकहरू पढेको छु । मेरो विचारमा नेपाली भाषामा लेखिएका धेरै पुस्तकहरू राम्रा छन् र थुप्रै लघुकथाकारहरूले आफूलाई राम्रो लघुकथाकारको परिचय दिन सफल हुनुभएको छ । त्यसैले सारांशमा के भनौँ भने नेपाली भाषामा प्रकाशित भएका धेरैजसो पुस्तकहरू पठनीय छन् ।
गोमः लघुकथामा कसरी आकर्षित हुनु भो ? अरुलाई आकर्षित गर्न के गर्न सकिएला ?
हरिः कविताबाटै मैले साहित्य लेखन यात्रा सुरु गरेको हुँ । २०४०/४१ सालदेखि मैले कथा लेख्न थालेँ । कथा लेख्ने र काठमाडौँका पत्रिका (विशेषगरि मातृभूमि साप्ताहिक) मा प्रकाशित गर्ने क्रम जारी थियो । यस्तैमा २०४५/४६ को आन्दोलनमा कृष्णसेन इच्छुक लगायतका साहित्यकारहरू मिलेर हाते पत्रिका छाप्ने र आन्दोलनमा बाँड्ने सल्लाह भयो । त्यसमा छोटा छोटा कविता, मुक्तक, छोटा कथा राख्ने सहमति भएको थियो । लामा कथा त्यसमा अटाउने सम्भावना थिएन । त्यो बेला लघुकथा भन्ने पनि थाहा थिएन । थोरै शब्दमा कथा पूर्ण गर्ने सिलसिलामा छोटाकथा लेख्न थालियो । वि. सं. २०४७ सालमा प्रकाशित चिराग कथासङ्ग्रहमा केही लामा कथा र धेरै लघुकथा छन् । त्यो बेला यी लघुकथा हुन भनेर प्रकाशित गरिएको होइन । त्यतिबेला छापियो । अहिले आएर हेर्दा ती कतिपय छोटा कथा र कतिपय लघुकथा बनेका रहेछन् । त्यो बेला लघुकथाको सैद्धान्तिक अवधारणा बनिसकेको पनि थिएन र हामीलाई लघुकथा के हो भन्ने ज्ञान पनि थिएन । लघुकथाको क्षेत्रमा म कुहिराको काग जस्तै थिएँ । धेरै वर्ष अन्धकारमा उडेपछि बल्ल लघुकथाको खुला आकासमा विचरण गर्ने अवसर मिलेको हो ।
अरुलाई लघुकथाप्रति आकर्षित गर्ने जुन प्रश्न छ, यसबारे विचार गर्दा अहिले धेरै लेखकहरू यसप्रति आकर्षित छन् नै मैले माथि भनेजस्तै मात्रात्मक रुपमा हामी धेरै अगाडि बढेका छौँ त्यसलाई गुणात्मक विकास गर्नसके हाम्रो लघुकथाको क्षेत्र भरिलो हुने देखिन्छ ।
हरिः नेपाली लघुकथाको विकासमा धेरैजना लघुकथाकारहरूको योगदान रहेको छ । तीमध्ये पूर्णप्रसाद ब्राह्मण, जयनारायण गिरी, दुर्लभलाल सिंह, विनय कसजू, गोरखबहादुर सिंहलाई म सधैँ सम्झिन्छु ।
गोमः लघुकथाको उन्नयनका निमित्त पत्र–पत्रिका, सामाजिक सञ्जाल तथा अन्य मिडिया वा माध्यमको भूमिका कस्तो अपेक्षा राख्नुहुन्छ ?
हरिः लघुकथा लेखेर मात्रै हुँदैन, प्रकाशित गर्नुपर्छ । प्रकाशनका लागि पत्रपत्रिका, सामाजिक सञ्जाल तथा अन्य मिडियाहरूको आवश्यकता पर्छ । त्यसो हुनाले यी माध्यम लघुकथाका लागि नभइ नहुने माध्यम हुन् । यिनै माध्यमहरूले गर्दा आजका दिनमा लघुकथाको व्यापक चर्चा परिचर्चा भएको छ ।

No comments:
Post a Comment