Friday, June 6, 2025

लघुकथा (अङ्क २४ मा प्रकाशित)


धनबहादुर र मनमती निकै इमानदार मेहनती दम्पती थिए । उनीहरूका दुई छोरा र एक छोरी गरेर परिवारमा जम्मा पाँच सदस्यको मध्यम वर्गीय परिवार थियो । दुवै दम्पतीले अथक परिश्रम गरेर छोरा छोरीलाई पढाए लेखाए पहिलो सन्तान छोरी भएकोले इन्टर पास गर्नासाथ बिहे गरेर पठाइ सकेका थिए । दुइटै छोराले स्नातकसम्मको डिग्री लिएर अधिकृतस्तरको सरकारी जागिरमा प्रवेश पाइसकेपछि दुवै छोराको बिहे गरिदिएर धनबहादुर र मनमती आफ्नो जिम्मेवारीबाट मुक्त भइसकेका थिए । सबै राम्रै थियो तर दुई जना बुहारीहरूको बीचमा ठाकठुक भनाभन सुरु भयो र झगडा गालीगलौजबाट हात हालाहालको स्थितिमा आएपछि दुवै छोराले अंशबन्डा गरेर अलग बस्ने निर्णय लिनपुगे र बण्डामा घर र करेसा बारी बुढाबुढीको भाग छुट्याएर बाँकी दुई भाइलाई बराबर बाँडी दिए । छोरा बुहारीहरू आआफ्ना घर बनाए । बुढाबुढीलाई एक्लै छाडेर गएपछि मनमतीलाई आफ्नो घर रित्तो रित्तो मरूभूमि जस्तो लाग्न थाल्यो र त्यही सुर्तै सुर्तामा बिरामी परिन् धनबहादुरले उनको उपचार गर्नमा कुनै कमी छोडेनन् तर मनमती झन् झन् थलिंदै गइन् छोराहरू पनि आमालाई हेर्न आउँथे र कर्तव्य निभाए जस्तै गरेर केही फलफूल र हजार पाँच सय सिरान नजिकको टेबलमा राखेर जान्थे, बुहारी र नातिनातिनाको प्रतीक्षामा मनमतीको आँखा सधैं मूल ढोका तिरै हुन्थे । तर उनीहरू आउँदैन थिए ।

एक दिन धनबहादुरले भने, कति हेर्छिस् ढोकातिर आउँदैनन् तेरा नातिनातिना भो आश नगर ।

यो सुनेर खोपिल्टा परेका आँखाको कुनाबाट बररर आँसु झरे लगतै उनको टाउको एकातिर ढल्कियो ।

बुढीले संसार छाडेर गएपछि धनबहादुरलाई संसारै रित्तो लाग्न थाल्यो । के गरून् एक किसिमको छट्पटी हुन थालेकोले उनी नातिनातिनासँग भेटौँ भनेर जेठो छोराको घरमा पुगेका थिए ढोकाभित्र पस्न नपाउँदै बुहारीले बोलेको शब्द उनको कानमा पर्‍यो ।

अब तपाईंको बा एक्लै बस्न सक्नुहुन्न होला, म तिमीहरूसँग बस्छु भनेपछि खुरुक्क लिएर आउने हैन नि ! कान्छा छोरासँग बस्नुस् भन्नुहोला ।

छोराले भन्यो, बा कान्छासँग बसेपछि बा आमाको जिउनी सबै उसैले खान्छ हामीले केही पाउँदैनौ । आखिर कति बाँच्लान् र बुढा फेरि बाको खर्च नै के छ र एक गाँस खाएर एउटा कुनामा परिरहन्छन् बुढा ।

यति सुनेपछि धनबहादुर त्यहाँबाट फरक्क फर्केर कान्छो छोराको घरतिर लागे । त्यहाँ उनले देखे बुहारीका बाबुआमा आएका रहेछन् । अचानक ससुरालाई ढोकामा देखेर बुहारीले मुख बनाउँदै भनिन्, ॅॅकिन कष्ट गर्नुभएको बा ? भेट्न मन लागेको भए  बोलाउनु पर्थ्यो नि, हामी आइहाल्ने थियौ । भेट्न मात्र आएको हैन बुहारी, अब म एक्लै बस्न सक्दिन म यहीँ बस्न आउँछु । यहाँ नातिनातिनासँग भएँ भने मलाई खुसी लाग्छ । ओहो बा ! तर यहाँ त मैले बा आमालाई सधैँका लागि ल्याएको छु । बरु दाजुकोमा जानू न बा’’ भनिन् र छोराले पनि उसैको कुरामा समर्थन जनायो । उनी केही नबोली बाटो लागे, उनका पाइला घरतिर मोडिए । आँखामा घोर निराशा छाएको थियो । घर पुगेर केही लत्ता कपडा झोलामा राखे, दराजमा भएको जग्गाको लालपूर्जा र अन्य कागजपत्र झोलामा राखेर घरबाट निस्किए । केही दिनपछि छोरा बुहारीले थाहा पाए, बुढाले आफ्नो सम्पत्ति सबै वृद्धाश्रमलाई दान दिएर आफै पनि त्यही बस्न थालेको भन्ने कुरा ।

हालः काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment