"मेरो कपालको जरा–जरा दुख्दैछ । निधारबाट चिटचिट पसिना आइरहेको छ । ए ! कता छ्यौ भन्या तिमी !’’ मधुमाधव पत्नीलाई सम्बोधन गर्दै ओछ्यानबाटै चिच्याए ।
– “लौ न नि, के भयो त !’’ माधवी अत्तालिँदै शयन कक्षमा पुगिन् । तातो पानी पिउन लगाइन्; कपाल मालिस गरिदिइन्; नरम तौलियाले पसिना पनि पुछिदिइन् ।
केही सन्चो जस्तो भएलगत्तै मधुमाधव र उनकी पत्नी बीच अस्पताल गएर जचाँउने सरसल्लाह भयो ।
अस्पतालमा उनको टाउकाको सिटी स्क्यान, एम.आर.आई लगायत केही टेस्टहरू भए ।
– “टाउकाको एउटा नसा सुकेको छ । एउटा नसा छिन्न लागेको देखिन्छ । तत्काल अप्रेसनको कुनै विकल्प छैन ।’’ डाक्टरले रिपोर्टको सङ्क्षिप्त सार सुनाए ।
– “सामान्य रुघाखोकी र ज्वरो बाहेक औषधिको नाममा एक ट्याबलेट मुखमा नपरेको र निरन्तर पथपरेजमा रहने ज्यानमा यस्तो रोग कसरी आयो ।’’ उनी अधीर भई मनमनै गुनगुनाए ।
– “ल अप्रेसनका लागि भोलि नै दस लाख रुपियाँ डिपोजिट गर्नुस् ।’’ डाक्टरको आदेशमूलक अनुरोध सम्झेर उनी टोहोलो परे । धेरैबेर घोरिए । मौनतामा छ्चल्किए ।
यसैबीच घरको नियमित मासिक खर्च, छोरालाई विदेश पठाउँदाको ऋण, छोरीको पढाई खर्च, सामाजिक व्यवहार आदिका कारण खर्चका शीर्षकहरू सुरसाको मुखजस्तै तन्कँदै गएको निचोडमा उनी पुगे ।
अर्कातिर आफ्नो जागिरको कमाई, न्यून पारिश्रमिकबाट कट्टी हुने अधिकतम कर, सापटी र त्यसको ब्याज पनि सम्झनामा आयो । तुलनात्मक विश्लेषण पछि उनी अलि बढी नै उद्वेलित र भावविह्वल भए ।
– “धेरै सोच्ने फुर्सद छैन, झट्टै निर्णयमा पुग्नुस् अङ्कल !’’ एउटी नर्सले उनको एकसुरे सोचाइमा बेचैनीको पहिरो चलाएर गइन् ।
उनको ओठ तालु सुक्यो । जिब्रो सुक्खा भो । उनले आफूलाई प्राकृतिक र सहज अवस्थामा फर्काउन खोजे । मन अन्तै मोड्ने इच्छा भयो रोगबाट । अनि नजिकैको टेबलमा रहेको पत्रिकामा आँखा डुलाउन थाले ।
पत्रिकाको अघिल्लो पेजमा ब्यानर न्यूज बनेर छापिएको हेडलाइन पढे । लेखिएको थियो,
– “उपचार खर्च जुटाउन नसकेर बिरामीले अस्पतालको पाँचौँ तलाबाट हाम फालेर आत्महत्या गरे ।’’
यो खबरले मुटुको चाल गडबडियो उनको ।
उनी सरासर डाक्टरको छेउमा गए र भने– “डाक्टर साहेब ! यहाँ नेपाललाई स्वीजरल्याण्ड बनाउने कुरो हुन्छ । धनीमानीहरू कमाएको पैसा लगेर स्वीस बैंकमा जम्मा गर्छन् भन्ने पनि सुन्छु । नेपाल र स्वीजरल्याण्डको भू–बनोट पनि उस्तै छ रे ! स्वीजरल्याण्ड नामसँग नेपालीको गहिरो मोह पनि देखिन्छ । स्वीजरल्याण्डको जस्तो कानून नेपालले अवलम्बन गर्न मिल्दैन ?’’
नसाको बिरामीले गरेको बेतुकको प्रश्न भन्ने ठानेर डाक्टर अलमलिए मात्र, केही बोलेनन् ।
मधुमाधव मणिपुर चक्रदेखि गहिरो श्वास तान्दै सुस्केरा मिश्रित साउतीमा फुस्फुसाए –“डाक्टर साहेब ! स्वीजरल्याण्डमा झैँ इच्छामृत्युको सुविधा दिइयोस् । …..म लामो आराममा समाधिस्थ हुन चाहन्छु ।’’
– विदुर–५, नुवाकोट
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment