Wednesday, April 1, 2026

लघुकथा (अङ्क ३३ मा प्रकाशित)


गाउँको एक विद्यालयको शिक्षकबाट अवकाश प्राप्त चन्द्रमणि जेठा छोरा र बुहारीसँग सहरमा दिन कटाइरहेका थिए । छोरा अधिवक्ता बुहारी सरकारी जागिरे भएका कारण दिनमा दुवै व्यस्त रहन्थे । एकदिन पुराण वाचन भएको घरमा भजन कीर्तन भैरहँदा चन्द्रमणिसँग कृष्णभक्तले “हाम्रो आश्रममा आउनुस्, बाबासँग दर्शन भेट गराइदिन्छु । उहाँले दिनुभएको आशीर्वाद एकदमै लाग्छ, धेरैले लाभ लिइसकेका छन् ।’’ कृष्णभक्तले यति भन्दा चन्द्रमणिले पत्याइहाले । उनी एकदिन कृष्णभक्तसँग आश्रम पुगे, आश्रमभित्रको भित्तामा गाईको फोटो, ठूलो आकारमा ॐ अक्षर, सँगै बाबाको फोटो देखिएपछि चन्द्रमणिलाई आश्रममाथि विश्वास जागेर आयो । चन्द्रमणि जस्तै अरु मानिसहरू पनि त्यो आश्रममा जाने र गुरूको प्रवचन सुन्ने गर्दथे । 

बाबाका बारेमा लेखिएका पुस्तक तथा मासिक रुपमा प्रकाशन हुने पत्रिकाहरुका पृष्ठहरूमा महँगो मूल्य तोकेर मनगढन्ते जन्तर–मन्तर विक्रीका लागि विज्ञापन छापिन्थ्यो भक्तहरूको फलिफापका लागि भन्दै । ती जन्तर–मन्तरको व्यापारबाट आश्रमका बाबाले मनग्यै धन कमाइसकेका थिए । बाबाद्वारा हिप्नोसिस र ब्रेनवासको माध्यमबाट फसाइएका चन्द्रमणि जस्ता तमाम मानिसहरूले तर्क गर्न पाउँदैनथे आश्रममा । त्यहाँ आकर्षक संगीतमा बाबाको गुणगानसहितको भजन बजिरहँदा अन्धभक्तहरू लठ्ठ हुन्थे । एकदिन घरको पूजाकोठामा ध्यानमा बसेको बेला चोर आएर दराज फोडेर सुनचाँदीका गरगहना र नगद लिएर कुलेलाम ठोक्दासम्म चन्द्रमणिले पत्तो पाएनन् । छिमेकीले “ध्यान सिकाउनेले नै चोर पठाएको हुनसक्छ, महँगो मूल्यमा ज्ञान सिकाउनेले नै आपराधिक काम गरेको हुन्छ । अगाडि मुखले ज्ञान सिकाउने र पछाडिबाट ज्यान लिन पछि नपर्ने त्यस्ता बाबाबाट सतर्क रहनुपर्छ” भने पनि अन्धभक्तिमा डुबिसकेका चन्द्रमणि सामान्य जीवनमा फर्किने सम्भावना भने थिएन । गुरुको पृष्ठभूमि हेर्दा उनी विगतमा विभिन्न अपराधमा संलग्न रहेको पाइए पनि उनी नेताहरूबाट संरक्षण पाइरहेका थिए । किन कि हरेक आश्रम चुनावताका उम्मेदवारहरूका लागि भोटबैंकको रुपमा प्रयोग हुँदैआएको थियो ।

–खुंग्री, रोल्पा हालः बुढानिलकण्ठ, काठमाडौँ

...........................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment