ऊ जिद्दी स्वभावको थियो । उसले कुनै पनि हालतमा नमर्ने प्रण गरेको थियो । जस्तोसुकै कठिन परिस्थितिमा पनि आफू नमर्ने उसको अठोट थियो । उसलाई मृत्युदेखि रत्तीभर डर थिएन ।
सात महिनामै जन्मिएको थियो । सास फेर्न कठिन भएर तीन महिनासम्म अस्पतालको एनआईसीयूमा राखिँदा उसले पहिलोपटक मृत्युलाई नजिकबाट देखेको थियो ।
त्यसपछि पहिरोमा घरसँगै पुरिँदा, आफू चढेको गाडी त्रिशूलीमा खस्दा, आफू चढेको प्लेन दुर्घटनामा पर्दा उसले पटक–पटक मृत्युलाई नजिकबाट देखिरह्यो । मृत्युले उसलाई च्याप्प समात्थ्यो, आफूसँगै लैजान बल गरेर तान्थ्यो । तर कहिल्यै सफल भएन ।
यसबाट ऊ आफू नमर्ने कुरामा झन् विश्वस्त भयो । उसको अठोट अझ बलियो भयो ।
ऊ भन्थ्यो, “म कुनै हालतमा मर्दिनँ । काल मलाई लिन आयो भने म जाँदिनँ, बरु त्यसलाई पछारेरै छाड्छु ।”
जीवनको अन्तिम घडी पनि आयो । ऊ वृद्ध भइसकेको थियो । मृत्युश®यामा उसलाई राखिएको थियो । आफन्त र परिवार उसको वरिपरि झुम्मिएका थिए ।
सबै भनिरहेका थिए, “राम राम भन्नुहोस्, राम राम ! स्वर्ग जाने ढोका खुल्नेछ ।”
नजिकै बसेको मृत्यु यो सबै हेरिरहेको थियो – मुसुमुसु हाँस्दै ।
मृत्युलाई देखेर उसलाई लाग्यो – “मृत्युले मेरो सास लान लाग्यो कि क्या हो ?”
मृत्यु एक प्रश्न बनेर उसको सामु उभिएको थियो ।
–अमेरिका


No comments:
Post a Comment