लघुकथाकार रामप्रसाद पन्तको 'मिसावट' नामक लघुकथासङ्ग्रह २०८० मा बयालिसौं कृतिको रुपमा प्रकाशित भएको छ । यस कृतिभित्र उनले लेखेका सम्मानको सुरक्षा, गुरूआज्ञा, धोका, मिसावट, अतृप्त आत्मा लगायत विभिन्न शीर्षकका एकाउन्नवटा लघुकथाहरू राखिएका छन् । एकाउन्नवटा लघुकथाहरू रहेको मिसावटमा तेह्रवटा लघुकथा कोरोना विशेष छन् । यस सङ्ग्रहभित्रको सम्मानको सुरक्षा शीर्षकको पहिलो लघुकथामा कोठाको स्वरुप पनि बदलिएछ । पुस्तकको खुल्ला दराज पनि अलि पर सारेर सेतो पर्दाले छोपिएछ । सोफा हटाएर खाट राखिएछ । भुइँमा बिछ्याइएको पुरानो टाट पनि निकालेर नयाँ फेरिएछ भनिएको छ ।
प्रस्तुत सङ्ग्रहका कथाहरू हाम्रो दैनन्दनीय घटनाहरूको बुनोट हो । कथाहरू सरल र बोधगम्य छन् । धर्म, सस्कृति, शिक्षा र सामाजिक भावनासँग जोडिएका बिसङ्गतिहरूलाई सरल र सहज ढङ्गले प्रस्तुत गरिएको छ । यस सङ्ग्रहका देश, काल र परिस्थितिहरू समसामयिक समाजमैली परिवेश रहेका छन् । कतै कतै आदर्श चेतको स्थापनाका लागि परम्परागत घटना, पात्रीय सन्दर्भको उपजीव्य कथनलाई लघुकथाहरूले यथार्थको झल्को दिन र आदर्शको स्थापना गर्न खोजेका छन् ।
धोका शीर्षकको लघुकथामा दुई वर्षपछि दसैँमा घर आउँछु भन्दा धनमायाले रामबहादुरलाई रोकी–यसैउसै दुःख गर्न गइसकेपछि अरु दुई वर्ष खटिएर काम गर, तबसम्म एउटा घडेरी पनि किनम्ला र सानै भए पनि एउटा आफ्नै बास बनाएर वसम्ला भनिएको छ । मुलाको साग शीर्षकको लघुकथामा माइत गएकी श्रीमती साग सहितको मुला बोकेर आइन् । भनिन् आमाले दिनुभएको आफ्नै बारीमा फलेको आर्ग्यानिक । अब म यसैको तरकारी पकाउँछु भनिएको छ ।
यसभित्र लेखिएका लघुकथा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महङ्खव बढ्नेछ । यस तथ्यलाई लघुकथाकार पन्तले मनन गरेका छन् । विषय छनोट कथाकारको महङ्खवपूर्ण परीक्षणको क्षेत्र हो । कथाकारले आजको पाठकको भोकतिर्खा मेट्न सक्ने विषय छनोट गर्न सक्यो कि सकेन त्यो महत्वपूर्ण पाटो होे । यस सङ्ग्रहभित्रका कथाको शीर्षकहरूबाट नै कतिपय कथा व्यक्तिको चरित्र वा स्वभावसँग सम्बन्धित छन भन्ने स्पष्ट देखिन्छ । कतिपय शीर्षकले घटना, कतिले समस्या, कतिपयले जीवनानुभव र कतिपयले अवस्थाको सङ्केत गरेका छन् । यस कृतिभित्रका कथामा पनि व्यक्तिगत स्वभाव, सामाजिक परिघटनाहरू र प्रवृत्तिहरूकै चित्रण भएकाले कथाकार पन्त शीर्षक चयन वा कथाको नामकरण गर्नमा खप्पिस छन् ।
सङ्ग्रहभित्रका पात्र, परिवेश र घटना हाम्रै समाजमा देखिएका सुनिएका र भोगिएका छन् । मान्छेका प्रवृत्ति र उसले बिर्सदै गएको आफ्नो धरातल तथा हराइरहेको मानविय संवेदनालाई पनि यस कृतिले आफ्नो विषय बनाएको छ । आशावादी भएर समाजका विकृतिलाई निर्मूल पारेर एउटा सुन्दर समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस सङ्ग्रहभित्रका कथा सक्षम छन् । स्रष्टा एउटा समाजको द्रष्टा पनि भएकाले ऊ यो समाजबाट अलग हुन कत्ति पनि सक्दैन । यही समाजमा रहेका सङ्गत, बिसङ्गत सबै कुरासँग पौँठाजोरी खेल्नुनै पर्छ ।
कुबुद्धि शीर्षकको लघुकथामा मेरा आदरणीय गाउँले दाइ । म उनीलाई भेट्न बेलाबखत उनको डेरामा जाने गर्छु । म जाँदा शोभा भाउजू पनि खुशी हुन्छिन् । छोराछोरीको पढाइलेखाइमा पनि मेरो सहयोग रहने गर्छ भनेर पन्तले लेखेका छन् । पर्दाभित्र शीर्षकको लघुकथामा चुच्चेपाटीबाट जोरपाटी पुग्दासम्म उसको बसाइ र मेरो बसाइमा खासै परिवर्तन भएन । परिवर्तन गर्ने आवश्यकत र वाध्यता पनि परेन । किनभने दुई जनाभन्दा बढी अट्नसक्ने सिटको क्षमता थिएन र खाली ठाउँ पनि बाँकी थिएन भनेर लेखिएको छ । जँड्याहा उवाच शीर्षकको लघुकथामा कहिलेकाही अलि बढी खाइन्छ, खुट्टो अगाडि बढ्दैन, अनि थचक्क बस्छु र बाटैमा सुतिदिन्छु । त्यसमा आश्चर्य मान्नुपर्ने कुरा के छ ? मैले कसैको केही खाएको त छैन नि भनिएको छ ।
षड्यन्त्रको गन्ध शीर्षकको लघुकथाभित्र महामारीको रुपमा फैलिएको कोरोनाले देश सङ्कटग्रस्त अवस्थामा पुगेको थियो । कलकारखानाहरू बन्द अवस्थामा थिए । दैनिक मजदुरी गरेर खानुपर्ने निम्नवर्गीय समाज भोकमरीमा बाँच्न बाध्य थियो भनिएको छ । पन्तले समाजका कुनै पनि क्षेत्रमा घटेका त्यस्ता घटना, घटनालार्ई कथात्मकता दिन उत्प्रेरित गर्ने वातावरण वा परिवेश, घटनामा संलग्न चरित्र/पात्र, बिनाबाधा अवरोध प्रदान गरेका छन् ।
चस्को शीर्षकको लघुकथामा देवीचन्द्रले घरायसी उपचारलाई अरु तीव्रता दिन्छन् । अदुवा, तुलसी, बेसार, गुर्जो, मरिच, तेजपात, त्रिफला आदि जे जे उपलब्ध हुनसक्छ चपाएर वा उमालेर खाइरहे । तर बढ्ने क्रम रोकिंदैन । स्रष्टा पन्तको लघुकथा राजनीति क्षेत्रसँग सम्बन्धित लघुकथाको प्रधानता नभए पनि त्यसप्रतिको रुचि भने पाइन्छ । उनको पदीय शक्ति लघुकथामा समाजमा राजनीतिक पदलाई प्रधानता दिने प्रवृत्ति आएको छ ।
कृतिः मिसावट (लघुकथासङ्ग्रह)
लघुकथाकारः रामप्रसाद पन्त
प्रकाशकः दायित्व वाङ्मय प्रतिष्ठान
संस्करणः वि.सं. २०८० पहिलो
मूूल्यः रु. १७५/–, पृष्ठः ११२
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment