Friday, November 27, 2026

लघुकथा (अङ्क ४० मा प्रकाशित)


"दाजु, निधार थाप्नुहोस् त, म हजुरको चिरायुको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिन्छु ।’’ त्यो स्नेहिल वाणीको मधुर अनुगूँजले मेरो हृदयको तन्त्रीमा अकस्मात् झङ्कार उत्पन्न गर्‍यो । म विस्मित हुँदै नेत्र उघारेँ तर, सम्मुख कोही थिएन । केवल शारदीय शीतल समीरले गवाक्षको पर्दा हल्लाइरहेको थियो । त्यो स्वर मेरो अतृप्त अन्तस्करणको गहिराइबाट प्रस्फुटित केवल एक मृगतृष्णा मात्र सिद्ध भयो ।

बाहिर बस्तीभरि देदीप्यमान दीपमालाको आभा प्रज्ज्वलित थियो । देउसी र भैलोको सुमधुर ध्वनिले चराचर जगत्‌मा हर्षोल्लास सञ्चार गरेको थियो । तर, यही प्रकाशपर्वको उत्सवमा मेरो अन्तरहृदयमा भने सधैँझैँ एक अनाम रिक्तता र नीरवता मडारिरह्यो । प्रतिवेशीका प्राङ्गणमा भगिनीहरूले ओखर फोरेर तैलधाराले सुरक्षाको परिधि कोर्दा मेरो धैर्यको बाँध भत्किन खोज्यो । अरूका ललाटमा सप्तरङ्गी टीका देदीप्यमान भइरहँदा मेरो ललाट भने मरूभूमिको सिकताझैँ उराठ र रिक्त रह्यो । कण्ठमा शोभायमान हुने मखमली मालाको सौरभ केवल कल्पनाको क्षितिजमा मात्र सीमित भयो ।

प्राङ्गणको डिलमा प्रज्वलित मृत्तिकादीपले बाह्य अन्धकार त चिर्‍यो, तर मेरो आन्तरिक तिमिरलाई चिर्न असमर्थ रह्यो । त्यस पर्वमा पनि मैले त्यही रिक्त ललाट लिएर व्योमका नक्षत्रहरूतिर दृष्टिपात गरेँ । सायद, ती देदीप्यमान तारापुञ्जमध्ये कुनै एक मेरी अदृश्य अनुजा बनेर मलाई अनन्त आशीर्वचन प्रदान गरिरहेकी होलिन् भन्ने मधुर भ्रान्तिमा मैले आफ्नो एकाकीपनलाई सान्त्वना दिएँ ।

– बनेपा –१२, काभ्रे

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

लघुकथा (अङ्क ४० मा प्रकाशित)


ऋतुचक्र घुम्दो छ । संसार परिवर्तनशील छ । जल, हावा, पानी, प्रकाश, आकाशको आफ्नै अस्तित्व छ । शरद ऋतु दशैंको महान् चाड पछि झिलिमिलि दिपावली, उज्योलो खुसीको रङ्गिन चाड तिहार तुप्लुक्क आँगनमा आइपुग्यो । कागतिहार, कुकुरतिहार, गाईपूजा, लक्ष्मीपूजा, म्हपूजा क्रमशः भाइटीकाको शुभमूर्हतः शुरु भयो । पराजय परिवारको कान्छो भाइ अलि गरिव र बेरोजगारी गाउँमा खेतीपाती गरेर बाँच्ने भुईं मान्छे ।

दाजुहरू महान् प्रतिष्ठित धनीमानी हरेक कुरामा हिसाब–किताब गर्ने, आफ्नो फाइदाको खातिर अनेकन चालचाल्न सक्ने धूर्त चलाख । महिनौंदेखि दुःख मेहनत गरेर धान, पराल बेचेर दिदीबहिनीहरूको लागि दक्षिणा जम्मा गर्‍यो । शुरुमा दाजुहरूलाई टीकाटालो गरेर दक्षिणा लिएर भाइ पराजयको टहरामा टीका लगाउन आगमन भयो । सानी भान्जीको हातमा खुद्रा रूपैयाँका मुट्ठा थियो । भान्जीलाई व्यङ्ग्य गर्दै पराजयले भन्यो – आहो ! भान्जी ठुलावडा मामाहरूबाट थुप्रै दक्षिणा लिएर आएकी हौ ? खै ! खै ! म नोट मिलाई दिन्छु । बहिनीले आँखाको इसाराले हुन्न संकेत दिएपछि नाइँ भनिन् । 

कुनै प्रतिवाद विना यावत रूपमा पराजयले मण्डप बनाई भाइटीकाको लागि आवश्यक व्यवस्था गरियो । टीका पश्चात् दक्षिणा खुल्ला रूपमा दिइयो । दक्षिणा प्राप्ति पछि दिदीबहिनीमा कुटिल मुस्कान थियो । सुरुचि भोजन प्रबन्ध भयो । दिदीबहिनी आ–आफ्नो घरतर्फ लाग्यो । 

पराजयलाई खुसी लाग्यो । उफ … जसरी भए पनि यसपालि धान, पराल बेचेर तिहार टारियो । दिदीबहिनी खुसी भएँ । मनमा आनन्द भयो । आनन्दको सन्तोष लिनन पाउँदै गाउँको छिमेकीबाट नयाँ खबर पाइयो । “तिमी त लाटो रहेछौ तिम्रा दाजुहरू धनी भईकन पनि तिम्रा दिदीबहिनीहरूले ल्याएकी सर–सामान मूल्याङ्कन गरी दक्षिणा दिएको रहेछ । सामानको मूल्य १०००/– र १६००/– दक्षिणा तिम्रा दाजुहरूलाई घाटा भयो रे ! राम राम छिमेकीको सवालमा पराजयले “यो माया र सद्भावको भाइटीका अमूल्य हुन्छ ।” सर–सामानसँग तुलना हुँदैन भन्दै बारीमा डल्ला फुटाउन हिडेँ ।

–बुङ्गमति – २२, ललितपुर

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

लघुकथा (अङ्क ४० मा प्रकाशित)


चुनाव जितेर गाउँ फर्कन लागेका मन्त्रीको स्वागतका लागि गाउँमा भव्य तयारी हुँदै थियो । गाउँलेहरूले घरैपिच्छे पैसा उठाएर पाँच किलोको सुगन्धित फूलको माला ल्याएका थिए । लोकल कुखुराको मासु, बासमती चामलको पुलाउ र विभिन्न परिकारसँगै पेय पदार्थको पनि व्यवस्था गरिएको थियो ।

दसैँको अवसर पारेर विशेष स्वागत समारोह आयोजना गरिएको थियो । गाउँका चतुरबहादुर कामीले पनि पाँच सय रुपैयाँ चन्दा बुझाउनुपर्‍यो । महामारीका कारण यसपालि उनको कमाइ थिएन । छोराछोरीलाई नयाँ लुगा र मीठोमसिनो खुवाउनसमेत नसकेका उनले श्रीमतीको नाकमा लगाएको सुनको बुलाकी बेचेर चन्दा बुझाए ।

फूलपातीका दिन मन्त्री हेलिकप्टरमा गाउँ आइपुगे । तीन जनाले समातेर पाँच किलोको माला उनको गलामा पहिर्‍याए । ताली र तस्बिर खिच्ने क्रम चलिरह्यो ।


चतुरबहादुरको पाँच वर्षीय छोराले मन्त्रीलाई सोध्यो, “तपाईं ठूलो मान्छे हो, है?”
मन्त्री मुसुक्क हाँसे ।

बच्चाले फेरि भन्यो, “यो माला त तपाईंलाई साह्रै सुहाएको छ । जाने बेलामा मलाई दिनु होस् है?”

मन्त्रीले हाँस्दै सोधे, “किन बाबु?”

बच्चाले सहजै भन्यो, “यो माला बनाउन मेरी आमाको नाकको सुनको बुलाकी बेचेर पैसा दिएको हो नि !”

– महाराजगञ्ज, काठमाडौँ

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

लघुकथा (अङ्क ४० मा प्रकाशित)


म मेरी आमाको हात समातेर कतै जाँदै थिएँ … !
मैले आमाको हात समातेको हुँ कि आमाले मेरो हात ?
मैले आफैँलाई प्रश्न गरेँ  …।

हुन पनि हो—
दुई वटा हात जोडिएका छन्, मेरो र मेरी आमाको ।
पहिला–पहिला म बच्चा छँदा

त्यही हातले समाउँदा
“आमाले मलाई हात समातेर डोर्‍याइन्‌” भनिन्थ्यो…

…आज
“मैले आमाको हात समातेर लगें” रे…

फरक यत्ति हो—
आज म ठूलो भएँ
मेरी आमा बूढी भइन् । 

पहिला म बच्चा छँदा
मेरी आमा मेरो लौरो हुनुहुन्थ्यो …
आज मेरी आमाको लौरो
म भएँ …।

यही कुरा गुन्दै मैले
मेरी आमाको हात
अझ कसिलो गरी समाएँ  ।

– महापाल, ललितपुर

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

लघुकथा (अङ्क ४० मा प्रकाशित)


रोशनलाई पटाका किनेर पड्काउने रहर त थियो, तर उसका अभिभावकले पटाका पड्काउनु राम्रो काम होइन भनेर उसलाई पटाका किन्नका लागि नगद दिइएन । रोशनकी दिदीले आफूले दसैँमा पाएको दक्षिणामध्ये केही रकम रोशनलाई दिई । तर सो नगदले एक प्याकेट पटाका नआउने भएपछि रोशनले केही उधारो राखेर एक प्याकेट पटाका किन्यो । 

रोशनले आफ्नो घर अगाडिको सडकको पेटीमा सलाई कोरेर पटाको धागोको टुप्पोमा आगो सल्काउँदै गर्दा नजिकै रहेको कुकुरले पटाका सुघ्न थाल्यो । पटाका ठूलो आवाजले ड्याम्म पड्किएपछि कुकुर सुइँकुच्चा ठोकेर दौडँदा तीव्र गतिमा आएको मोटरसाइकलमा ठोक्किएपछि चालकले अचानक ब्रेक लगाउँदा मोटरसाइकलको पछाडि बसेकी उनकी श्रीमती भुइँमा बेजोडले लडेर नराम्रोसँग घाइते भइन् । त्यो दृश्य देखेपछि टोलबासीहरू आत्तिएर घटनास्थलमा पुगे । 

एकछिनमै रोशनका बुवा–आमा पनि त्यहीँ पुगे । गाइँगुइँ हुँदा रोशनले पड्काएको र पटाकाको ठूलो आवाजले तर्सिएर कुकुर जोडले दौडिदा मोटरसाइकलमा ठोक्किएको निश्चित भएपछि रोशनका बुवाले ट्याक्सी बोलाएर घाइतेलाई अस्पताल लगे र घाइतेको खुट्टामा र टाउकोमा लागेको चोटको उपचार गरेर घरमा पुर्‍याइदिए । रोशनका बुवाले मोटरसाइकल चालकसँग माफी माग्दै घर फर्किएर रोशनलाई हप्काए । रोशनका बुवाले अस्पतालमा घाइतेको उपचार बापत चौध हजार रुपियाँ बुझाउनुपर्‍यो । 

एउटा सानो गल्तीले गर्दा धेरै क्षति व्यहोर्नुपर्ने हुन्छ भन्ने कुरा रोशनलाई थाहा भयो । त्यसैले उसले आउँदा वर्षहरूका तिहारमा कहिल्यै पनि पटाका नपड्काउने निर्णय गर्‍यो । उता पसलमा तिर्नुपर्ने पटाकाको उधारो रकम नतिर्दा पसलेले रोशनका बुवालाई मेरो पैसा दिनुस् भन्दा रोशनका बुवाले म दिँदैन पैसा–सैसा भने । तपाईंले मेरो छोरालाई दिएको त्यै पटाकाले गर्दा मैले चौध हजार रुपियाँ क्षति व्यहोर्नुपर्‍यो । सरकारले रोक लगाउँदा लगाउँदै पटाका बिक्री गर्ने तपाईंलाई कारबाही गर्न प्रहरीमा उजुरी दिन्छु भन्दा साहुले भने– “भो भो हजुर उजुरी दिनुपर्दैन, मेरै गल्ती भयो ।

– बुढानीलकण्ठ, काठमाडौँ

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।