Saturday, November 28, 2026

लघुकथा (अङ्क ४० मा प्रकाशित)


साँझको धमिलो उज्यालोमा विवश पोखरीको डिलमा टोलाइरहेको थियो । हातमा एउटा पुरानो दैनिकी पुस्तिका थियो, जसका पानाहरू मैलिएका थिए। त्यस दैनिकी पुस्तिकाको अन्तिम पाना केही नलेखिएको, लेख्न बाँकी भेटियो । सुप्रियाको सम्झना जस्तै, जुन सुरू त भयो पूरा हुन भने सकेन । 

पाँच वर्षअघि तिनीहरूले यही पोखरीको डिलमा बसेर कति धेरै सपनाहरूको महल बनाएका थिए । विवश चित्रकार बन्न चाहन्थ्यो भने सुप्रिया विवशको प्रत्येक रङमा आफ्नो भविष्य देख्थिन् ।

विवशले हाँस्दै सुप्रियाको हात समातेर भनेको थियो, “चित्रमा अधुरो रेखा सच्चाउन सकिन्छ सुप्रिया तर मेरो जीवनको चित्र तिमीबिना अधुरै रहन्छ । हामी कहिल्यै छुट्ने छैनौँ ।”

तर समय र समाजको कठोर नियमका अगाडि ती दुईको साँचो माया पनि घुँडा टेक्न बाध्य भयो । जात र घरानाको अग्लो पर्खालले तिनीहरूलाई दुई किनारा बनाइदियो । सुप्रियाको विवाह बुबाले छानिदिएको घरानियाँ अर्कै केटासँग तय भयो । विवाहको अघिल्लो रात सुप्रियाले विवशलाई अधुरो प्रेमको अन्तिम पत्र पठाएकी थिइन् । जसमा यस्तो व्यहोरा थियो– 'हाम्रो सम्बन्धले नाम नपाए पनि, मेरो आत्माको क्यान्भासमा पहिलो र अन्तिम रङ तिम्रै हुने छ । । म जाँदै छुँ, तर मेरो र तिम्रो बिचको अधुरो प्रेम छाडेर ।’

त्यसपछि विवशले कहिल्यै चित्र बनाएन । उसको क्यान्भास र रङहरूमा धुलो जम्यो ।

वर्षौपछि विवशले त्यही पोखरीको डिलमा गई हातमा रहेको दैनिकी पुस्तिका बन्द गर्‍यो र पोखरीको शान्त पानीमा आफ्नो धमिलो छाया हेर्‍यो र बुझ्यो–सबै कथाको अन्त्य मिलनमै हुनुपर्छ भन्ने छैन । केही प्रेमहरू अधुरा रहेर नै अमर बन्छन्, किनकि पूरा भएका प्रेमहरू प्रायःसमयको चक्रमा धुमिलिन्छन् तर अधुरो प्रेम जीवनको अन्तिम साथसम्म उस्तै ताजा र गहिरो रहिरहन्छ ।

– प्युठान नगरपालिका वडा नम्बर ८, बाग्दुला प्युठान

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

लघुकथा (अङ्क ४० मा प्रकाशित)


बल्ल चौथो वर्षको सुरूमा योजना तर्जुमा गर्ने कार्य पूरा गरे तिनीहरूले ।

“बाढीले गाउँ गाउँ नै बगाउन थाल्यो” भन्ने समाचार सञ्चार माध्यमले प्रसारण गरेपछि मात्र गाउँको संरक्षण गर्न योजनाकारहरूको ध्यान आकर्षित भयो । 

“अब के गर्न आवश्यक छ ?” भन्ने विषयमा तिनीहरूले सल्लाह गर्न थाले, ….आखिर धेरै सल्लाहपछि तिनीहरूले निर्णय गर्‍यो –

“दुई नदीको बीचका गाउँहरूको अस्तित्व अन्य गाउँहरूको भन्दा धेरै नै 

संकटमा पर्न सक्ने सम्भावना भएकोले यस्ता गाउँहरूलाई नै प्रमुख प्राथमिकता दिई योजना तयार गर्ने”

"के गर्नुपर्ला ?” भन्ने बारेमा कुरा गर्दागर्दै पहिलो वर्ष सकायो ।

“के के पक्ष तथा विषयहरूलाई विशेष प्राथमिकता दिइ योजना बनाउन पर्ला ?” भन्ने विषयमा केन्द्रित रही छलफल गर्दैै दोस्रो वर्ष बितायो ।

“कार्यक्रमहरूको छनौट र मार्गचित्र तयार गर्न” मा तेस्रो वर्ष सकायो ।

चौथो वर्षमा अफिसमा मात्रै सल्लाह गरी तर्जुमा गरेकोे योजनालाई  कार्यान्वयन गर्न बजेट पास गराई प्रदेशमा पठाइयो । 

गाउँ संरक्षण गर्न नक्सा र योजनाका फाइलहरू बोकि इञ्जिनियर तथा कर्मचारीहरू गाउँतिर लागे ।…..

नक्सा हेर्दाहेर्दै तिनीहरू नदीको किनारमा पुगे, त्यहाँ तिनीहरुले कुनै पनि गाउँ, बस्ती देखेनन्, केवल डरलाग्दोे प्रवाहमा बगिरहेको नदीको पानी मात्र देखे, किनारामा रुख, घाँस, ढुङ्गा र सुनसान वातावरण मात्र देखे । पहिले पनि कुनै गाउँ, बस्ती भएको जस्तो पनि लाग्दैन त्यो ठाउँमा ।

नदीको छेउमा उभिएर नक्सा हेर्दै अलमल्ल भइरहेको बेलामा एकजना वृद्ध त्यहाँ आइपुगे ।

नक्सा देखाउँदै इञ्जिनियरले सोधे – “यो गाउँ कहाँ छ ?”

त्यो वृद्धले पानीको प्रवाहतिर हातले इसारा गरी जवाफ दिए – “नदीले लग्यो, बाढीले बगायो, दुई वर्ष अगाडि नै …!”

उनकोे कुरा सुनेर इञ्जिनीयर र कर्मचारीहरू जिल्ल परे ।

– बालकुमारी, ललितपुर


--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

लघुकथा (अङ्क ४० मा प्रकाशित)


पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत डुबाउँथ्यो, घर भत्काउँथ्यो।

“यो नदी हाम्रो शत्रु हो,” चौतारोमा बसेका बूढा हरिले भने । त्यही बेला विद्यालयकी शिक्षिका माया आइन्‌– “नदी शत्रु होइन, हामीले बाटो छेकिदिएका हौँ,” उनले भनिन्, “किनार अतिक्रमण गर्‍यौ, खोल्सा पुर्‍यौ, वन फँडानी गर्‍यौ । अब नदीले आफ्नो बाटो खोज्दा दोष नदीलाई ?”

गाउँले चुप लागे । त्यसपछि मायाले एउटा प्रस्ताव राखिन्‌– नदी किनारमा वृक्षरोपण गर्ने, पुरिएका खोल्सा खोल्ने, पानी बग्ने प्राकृतिक बाटो नछेक्ने र बाढीको पानी थुन्ने साना पोखरी बनाउने ।

यस वर्ष ठूलो वर्षा भयो । नदी फेरि उर्लियो । तर यसपटक गाउँ डुबेन । बाढीको केही पानी पोखरीमा जम्मा भयो, केही सिँचाइका कुलो हुँदै खेतमा पुग्यो । बाढीपछि खेतमा जमेको मलिलो माटोले धान झन् सप्रियो ।

हरिले नदीतिर हेर्दै मुस्कुराए– “हामीले शत्रु ठानेको यही पानी त हाम्रो खेतको मित्र पो रहेछ !”

मायाले भनिन्, “प्रकृतिलाई जित्न खोज्दा विपत्ति जन्मिन्छ; प्रकृतिसँग मिलेर बाँच्न सिक्दा त्यही विपत्ति वरदान बन्छ ।”

त्यस वर्ष गाउँलेहरूले नदीलाई बाँधेर होइन, बुझेर जोगाए । र गाउँको प्रवेशद्वारमा एउटा वाक्य लेखियो– “बाढीलाई रोक्ने होइन, उसको बाटो मिलाउने हो; पानीलाई शत्रु होइन, जीवनको मित्र बनाउने हो ।”

– सप्तरी


--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

लघुकथा (अङ्क ४० मा प्रकाशित)


उनको पुण्यको ख्याति स्वर्गसम्म फैलिएको रहेछ ।

दूतहरूले काँध झुकाएपछि चित्रगुप्त कुर्सीबाट उठे र सम्मान प्रकट गरे ।

“यात्रामा असुविधा त भएन नि ?’’

उनी मुस्कुराइन्, “असमानता र असुविधामा त हामी नेपाली महिलाको जन्मजात अभ्यास हुन्छ; चित्रगुप्त !’’

त्यही बेला उनको नजर भित्तामा पुग्यो । त्यहाँ स्वर्गको मेनु टाँसिएको थियो : सोमरसका रंगीन सिसीहरू; अप्सराको मादक हाउभाउका तस्वीरहरू; छेउमै भिडियो स्क्रिनमा नाचिरहेकी उर्वशी !

“थकाइ मेटियो भने स्वर्गतिरै लागौं कि ?’’ चित्रगुप्तले सोधे ।

उनले भित्तातिर इशारा गरिन्, “पुरूष पुण्यात्माले पाउने सुविधा त बुझियो । महिला पुण्यात्माका लागि मेनु खोइ नि ?’’

चित्रगुप्त र दूतहरूले एक–अर्काको मुख हेरे । हलमा सन्नाटा छायो ।

केहीबेरपछि उनी जङ्गिइन्, “के म यहाँ बसेर उर्वशीको नृत्य हेरेर रमाऔँ ? के म अप्सराहरूको हाउभाउ हेरेर दङ्ग परौँ ? मेरो स्वर्गमा मेरो इच्छाको सम्मान हुनु पर्दैन ? मेरो स्वर्गमा मेरो स्त्री चाहनाको कुनै स्थान छैन ?’’

उनी यसरी जङ्गिएको चित्रगुप्तको ’रेकर्ड–बक्स’ले यसअघि कहिल्यै टिपेको थिएन ।

– का.म.न.पा. –७ चाबहिल, काठमाडौँ

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Friday, November 27, 2026

लघुकथा (अङ्क ४० मा प्रकाशित)


"कति पिउनु परेको होला, पिउन पनि !’’ परिवारका सदस्य रिसले आगो भए पनि रामबहादुरले रक्सी पिउन छाडेनन् ।

घरमुली उनै थिए । त्यसैले उनलाई रक्सी पिउने लतको पोखरीबाट बाहिर निकाल्न कसैले सकेनन् । नानीदेखि लागेको बानी भने झैँ उनको दैनिक जीवनमा रक्सी अभिन्न अङ्ग हुँदै आयो । कसैले अवरोध गर्न खोजे पनि उनी अनेक जुक्ति निकाल्थे र रक्सीसँग भेट गरेरै छोड्थे ।

तर उनले अब रक्सी खान सकेनन् । रक्सीले उनलाई खान थाल्यो । उनको शरीरमा अनेक किसिमका बिकारहरू देखिन थाले । उनको कलेजोले काम गर्न छोड्यो । शरीरका आँखा लगायतका अङ्गमा पहेँलोपन बढ्न थाल्यो । खानेकुरामा अरूचि बढ्दै गयो । उनी कमजोर हुँदै गए । उनको बास अस्पतालमा हुन थाल्यो ।

अब पनि पिउन नछोडे ज्यान नबाँच्ने भएकाले रक्सी छोड्ने कडा निर्देशनसहित डाक्टरले उनलाई एक महिनाको औषधि लेखे ।

उनी जहान परिवारको साथ लागेर घर आए । घरकाले अब उनको कडा निगरानी गर्न थालेका थिए । उनी सिधा आफ्नो कोठामा उक्लिए । उनको कोठा अव्यवस्थाको नमुना थियो । उनकी श्रीमती पनि उनको कोठामा छिर्न नपरोस् भन्थिन् । अरु झन् किन छिर्थेन् ? 

पतिको रक्सीको लत छुट्ने आशाका साथ उनकी श्रीमती आज उनको कोठामा छिरिन् । कोठामा जताततै रक्सीका बोतलहरू लडेका थिए । श्रीमतीले देख्ने गरी उनले भुइँमा लडेका खाली बोतलहरू टिपे । मलाई बिगार्ने तैँ होइनस् भनेर रिसाउँदै रक्सीका खाली बोतलहरू झ्यालबाट बाहिर झार्न थाले । पतिको आजको क्रियाकलापले उनलाई खुसी तुल्याएको थियो । 

उनले श्रीमतीतिर हेरेर भने, “हेर त राधा ! मलाई हानि गर्ने बोतलहरूलाई मैले फालिसकेँ ।”

यतिखेरै उनकी श्रीमतीले कोठामा बाँकी रहेका बोतलहरूलाई पनि उठाएर फाल्न खोजिन् । हत्तपत्त रामबहादुरले श्रीमतीलाई रोके अनि नखोलिएका बोतलहरूलाई सुमसुम्याउँदै भने, “छोड ! छोड ! यिनीहरूलाई नचलाऊ । यिनीहरू पूरै निर्दोष छन् ।’’ 

– बागमती ११, कर्मैया, सर्लाही

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

लघुकथा (अङ्क ४० मा प्रकाशित)


"दाजु, निधार थाप्नुहोस् त, म हजुरको चिरायुको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिन्छु ।’’ त्यो स्नेहिल वाणीको मधुर अनुगूँजले मेरो हृदयको तन्त्रीमा अकस्मात् झङ्कार उत्पन्न गर्‍यो । म विस्मित हुँदै नेत्र उघारेँ तर, सम्मुख कोही थिएन । केवल शारदीय शीतल समीरले गवाक्षको पर्दा हल्लाइरहेको थियो । त्यो स्वर मेरो अतृप्त अन्तस्करणको गहिराइबाट प्रस्फुटित केवल एक मृगतृष्णा मात्र सिद्ध भयो ।

बाहिर बस्तीभरि देदीप्यमान दीपमालाको आभा प्रज्ज्वलित थियो । देउसी र भैलोको सुमधुर ध्वनिले चराचर जगत्‌मा हर्षोल्लास सञ्चार गरेको थियो । तर, यही प्रकाशपर्वको उत्सवमा मेरो अन्तरहृदयमा भने सधैँझैँ एक अनाम रिक्तता र नीरवता मडारिरह्यो । प्रतिवेशीका प्राङ्गणमा भगिनीहरूले ओखर फोरेर तैलधाराले सुरक्षाको परिधि कोर्दा मेरो धैर्यको बाँध भत्किन खोज्यो । अरूका ललाटमा सप्तरङ्गी टीका देदीप्यमान भइरहँदा मेरो ललाट भने मरूभूमिको सिकताझैँ उराठ र रिक्त रह्यो । कण्ठमा शोभायमान हुने मखमली मालाको सौरभ केवल कल्पनाको क्षितिजमा मात्र सीमित भयो ।

प्राङ्गणको डिलमा प्रज्वलित मृत्तिकादीपले बाह्य अन्धकार त चिर्‍यो, तर मेरो आन्तरिक तिमिरलाई चिर्न असमर्थ रह्यो । त्यस पर्वमा पनि मैले त्यही रिक्त ललाट लिएर व्योमका नक्षत्रहरूतिर दृष्टिपात गरेँ । सायद, ती देदीप्यमान तारापुञ्जमध्ये कुनै एक मेरी अदृश्य अनुजा बनेर मलाई अनन्त आशीर्वचन प्रदान गरिरहेकी होलिन् भन्ने मधुर भ्रान्तिमा मैले आफ्नो एकाकीपनलाई सान्त्वना दिएँ ।

– बनेपा –१२, काभ्रे

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

लघुकथा (अङ्क ४० मा प्रकाशित)


ऋतुचक्र घुम्दो छ । संसार परिवर्तनशील छ । जल, हावा, पानी, प्रकाश, आकाशको आफ्नै अस्तित्व छ । शरद ऋतु दशैंको महान् चाड पछि झिलिमिलि दिपावली, उज्योलो खुसीको रङ्गिन चाड तिहार तुप्लुक्क आँगनमा आइपुग्यो । कागतिहार, कुकुरतिहार, गाईपूजा, लक्ष्मीपूजा, म्हपूजा क्रमशः भाइटीकाको शुभमूर्हतः शुरु भयो । पराजय परिवारको कान्छो भाइ अलि गरिव र बेरोजगारी गाउँमा खेतीपाती गरेर बाँच्ने भुईं मान्छे ।

दाजुहरू महान् प्रतिष्ठित धनीमानी हरेक कुरामा हिसाब–किताब गर्ने, आफ्नो फाइदाको खातिर अनेकन चालचाल्न सक्ने धूर्त चलाख । महिनौंदेखि दुःख मेहनत गरेर धान, पराल बेचेर दिदीबहिनीहरूको लागि दक्षिणा जम्मा गर्‍यो । शुरुमा दाजुहरूलाई टीकाटालो गरेर दक्षिणा लिएर भाइ पराजयको टहरामा टीका लगाउन आगमन भयो । सानी भान्जीको हातमा खुद्रा रूपैयाँका मुट्ठा थियो । भान्जीलाई व्यङ्ग्य गर्दै पराजयले भन्यो – आहो ! भान्जी ठुलावडा मामाहरूबाट थुप्रै दक्षिणा लिएर आएकी हौ ? खै ! खै ! म नोट मिलाई दिन्छु । बहिनीले आँखाको इसाराले हुन्न संकेत दिएपछि नाइँ भनिन् । 

कुनै प्रतिवाद विना यावत रूपमा पराजयले मण्डप बनाई भाइटीकाको लागि आवश्यक व्यवस्था गरियो । टीका पश्चात् दक्षिणा खुल्ला रूपमा दिइयो । दक्षिणा प्राप्ति पछि दिदीबहिनीमा कुटिल मुस्कान थियो । सुरुचि भोजन प्रबन्ध भयो । दिदीबहिनी आ–आफ्नो घरतर्फ लाग्यो । 

पराजयलाई खुसी लाग्यो । उफ … जसरी भए पनि यसपालि धान, पराल बेचेर तिहार टारियो । दिदीबहिनी खुसी भएँ । मनमा आनन्द भयो । आनन्दको सन्तोष लिनन पाउँदै गाउँको छिमेकीबाट नयाँ खबर पाइयो । “तिमी त लाटो रहेछौ तिम्रा दाजुहरू धनी भईकन पनि तिम्रा दिदीबहिनीहरूले ल्याएकी सर–सामान मूल्याङ्कन गरी दक्षिणा दिएको रहेछ । सामानको मूल्य १०००/– र १६००/– दक्षिणा तिम्रा दाजुहरूलाई घाटा भयो रे ! राम राम छिमेकीको सवालमा पराजयले “यो माया र सद्भावको भाइटीका अमूल्य हुन्छ ।” सर–सामानसँग तुलना हुँदैन भन्दै बारीमा डल्ला फुटाउन हिडेँ ।

–बुङ्गमति – २२, ललितपुर

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

लघुकथा (अङ्क ४० मा प्रकाशित)


चुनाव जितेर गाउँ फर्कन लागेका मन्त्रीको स्वागतका लागि गाउँमा भव्य तयारी हुँदै थियो । गाउँलेहरूले घरैपिच्छे पैसा उठाएर पाँच किलोको सुगन्धित फूलको माला ल्याएका थिए । लोकल कुखुराको मासु, बासमती चामलको पुलाउ र विभिन्न परिकारसँगै पेय पदार्थको पनि व्यवस्था गरिएको थियो ।

दसैँको अवसर पारेर विशेष स्वागत समारोह आयोजना गरिएको थियो । गाउँका चतुरबहादुर कामीले पनि पाँच सय रुपैयाँ चन्दा बुझाउनुपर्‍यो । महामारीका कारण यसपालि उनको कमाइ थिएन । छोराछोरीलाई नयाँ लुगा र मीठोमसिनो खुवाउनसमेत नसकेका उनले श्रीमतीको नाकमा लगाएको सुनको बुलाकी बेचेर चन्दा बुझाए ।

फूलपातीका दिन मन्त्री हेलिकप्टरमा गाउँ आइपुगे । तीन जनाले समातेर पाँच किलोको माला उनको गलामा पहिर्‍याए । ताली र तस्बिर खिच्ने क्रम चलिरह्यो ।


चतुरबहादुरको पाँच वर्षीय छोराले मन्त्रीलाई सोध्यो, “तपाईं ठूलो मान्छे हो, है?”
मन्त्री मुसुक्क हाँसे ।

बच्चाले फेरि भन्यो, “यो माला त तपाईंलाई साह्रै सुहाएको छ । जाने बेलामा मलाई दिनु होस् है?”

मन्त्रीले हाँस्दै सोधे, “किन बाबु?”

बच्चाले सहजै भन्यो, “यो माला बनाउन मेरी आमाको नाकको सुनको बुलाकी बेचेर पैसा दिएको हो नि !”

– महाराजगञ्ज, काठमाडौँ

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

लघुकथा (अङ्क ४० मा प्रकाशित)


म मेरी आमाको हात समातेर कतै जाँदै थिएँ … !
मैले आमाको हात समातेको हुँ कि आमाले मेरो हात ?
मैले आफैँलाई प्रश्न गरेँ  …।

हुन पनि हो—
दुई वटा हात जोडिएका छन्, मेरो र मेरी आमाको ।
पहिला–पहिला म बच्चा छँदा

त्यही हातले समाउँदा
“आमाले मलाई हात समातेर डोर्‍याइन्‌” भनिन्थ्यो…

…आज
“मैले आमाको हात समातेर लगें” रे…

फरक यत्ति हो—
आज म ठूलो भएँ
मेरी आमा बूढी भइन् । 

पहिला म बच्चा छँदा
मेरी आमा मेरो लौरो हुनुहुन्थ्यो …
आज मेरी आमाको लौरो
म भएँ …।

यही कुरा गुन्दै मैले
मेरी आमाको हात
अझ कसिलो गरी समाएँ  ।

– महापाल, ललितपुर

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

लघुकथा (अङ्क ४० मा प्रकाशित)


रोशनलाई पटाका किनेर पड्काउने रहर त थियो, तर उसका अभिभावकले पटाका पड्काउनु राम्रो काम होइन भनेर उसलाई पटाका किन्नका लागि नगद दिइएन । रोशनकी दिदीले आफूले दसैँमा पाएको दक्षिणामध्ये केही रकम रोशनलाई दिई । तर सो नगदले एक प्याकेट पटाका नआउने भएपछि रोशनले केही उधारो राखेर एक प्याकेट पटाका किन्यो । 

रोशनले आफ्नो घर अगाडिको सडकको पेटीमा सलाई कोरेर पटाको धागोको टुप्पोमा आगो सल्काउँदै गर्दा नजिकै रहेको कुकुरले पटाका सुघ्न थाल्यो । पटाका ठूलो आवाजले ड्याम्म पड्किएपछि कुकुर सुइँकुच्चा ठोकेर दौडँदा तीव्र गतिमा आएको मोटरसाइकलमा ठोक्किएपछि चालकले अचानक ब्रेक लगाउँदा मोटरसाइकलको पछाडि बसेकी उनकी श्रीमती भुइँमा बेजोडले लडेर नराम्रोसँग घाइते भइन् । त्यो दृश्य देखेपछि टोलबासीहरू आत्तिएर घटनास्थलमा पुगे । 

एकछिनमै रोशनका बुवा–आमा पनि त्यहीँ पुगे । गाइँगुइँ हुँदा रोशनले पड्काएको र पटाकाको ठूलो आवाजले तर्सिएर कुकुर जोडले दौडिदा मोटरसाइकलमा ठोक्किएको निश्चित भएपछि रोशनका बुवाले ट्याक्सी बोलाएर घाइतेलाई अस्पताल लगे र घाइतेको खुट्टामा र टाउकोमा लागेको चोटको उपचार गरेर घरमा पुर्‍याइदिए । रोशनका बुवाले मोटरसाइकल चालकसँग माफी माग्दै घर फर्किएर रोशनलाई हप्काए । रोशनका बुवाले अस्पतालमा घाइतेको उपचार बापत चौध हजार रुपियाँ बुझाउनुपर्‍यो । 

एउटा सानो गल्तीले गर्दा धेरै क्षति व्यहोर्नुपर्ने हुन्छ भन्ने कुरा रोशनलाई थाहा भयो । त्यसैले उसले आउँदा वर्षहरूका तिहारमा कहिल्यै पनि पटाका नपड्काउने निर्णय गर्‍यो । उता पसलमा तिर्नुपर्ने पटाकाको उधारो रकम नतिर्दा पसलेले रोशनका बुवालाई मेरो पैसा दिनुस् भन्दा रोशनका बुवाले म दिँदैन पैसा–सैसा भने । तपाईंले मेरो छोरालाई दिएको त्यै पटाकाले गर्दा मैले चौध हजार रुपियाँ क्षति व्यहोर्नुपर्‍यो । सरकारले रोक लगाउँदा लगाउँदै पटाका बिक्री गर्ने तपाईंलाई कारबाही गर्न प्रहरीमा उजुरी दिन्छु भन्दा साहुले भने– “भो भो हजुर उजुरी दिनुपर्दैन, मेरै गल्ती भयो ।

– बुढानीलकण्ठ, काठमाडौँ

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

लघुकथा (अङ्क ४० मा प्रकाशित)


सिसीटिभी, सामाजिक गस्ती, घुम्ती प्रहरी, यतिले नि नपुगेर रातभर छाडा टोक्ने कुकुर । हैन, जनचेतना पनि कति साह्रो ह्वात्तै बढेको हो । गाइँगुइँ, खस्राङ्खुस्रुङ सुने कि त प्रहरीलाई फोन । जीविका चलाउनै नसकिने पो भयो त । गतिशील ऊ त्यत्तिकै रणनीतिक पनि थियो । अब पुरानै ढर्राले काम चल्दैन । उसले सोच्यो । 

हजुर, नमस्कार ! 

नमस्कार ! तर हजुरलाई त चिनिएन नि ?

हजुर, म यस ठाउँमा नयाँ नै हुँ । म पुरातङ्खव विभागबाट यस क्षेत्रमा रहेका पुरातङ्खिवक सम्पदाको सर्वेक्षणका लागि आएको, आउँदाआउँदै रात पर्‍यो । आज एक दिनलाई बास पाइन्थ्यो कि भनेर नि । 

हेर्दै भलाद्मी, आफ्नै गाउँको काममा आएको सरकारी कर्मचारी, त्यसमा पनि साँझको पाहुना – “हुन्छ नि हजुर, एक दिन के दुई–चार दिन नै बस्नुस् न ।” 

छोरा–छोरी सबै विदेश । घरमा भएका संयोग दम्पतीले ‘अतिथि देवो भव’ सम्झी राम्रै सत्कार गरे, बैठकमा सुताए। 

बिहान आठ बजिसक्दा पनि कसैलाई नदेखेपछि घर जोडिएका उनकै भाइ सरोजलाई अचम्म लाग्यो । 

दाइ, ए दाइ, भाउजू, 

कति बोलाउँदा पनि आवाज आएन । ढोकामा ताल्चा लगाएको पनि छैन, कहाँ जानु भएछ ? उनले ढोका टकटक गरेकामात्र के थिए, ढोका खुल्यो, भित्रबाट लगाएकै रहेनछ । घरका सबै ढोका खुलै थिए । 


सरोज दाइ–भाउजूलाई बोलाउँदै माथि गए । दाइ–भाउजू आफ्नै कोठामा लमतन्न, बेहोस, दराज खुलै, सबै सामान असरल्ल । उनले कुरो बुझिहाले ।

केही छिन पछि संयोग दम्पतीको होस खुल्यो । दाइ, के भयो तपाईंहरूलाई ? कसले गर्‍यो यस्तो ? सरोज सकी नसकी उठे, कोठा, दराज सबै हेरे । सबैका ताल्चा/लक फोडिएका थिए । 


--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

म किन लेख्छु ? (अङ्क ४० मा प्रकाशित)


लेखन केवल शब्दहरूको संयोजन होइन; यो त मानव चेतनाको सबैभन्दा गहिरो अभिव्यक्ति, अस्तित्वको खोज र आत्माको निरन्तर संवाद हो । म किन लेख्छु ?’ भन्ने प्रश्नको उत्तर कुनै एउटै वाक्य वा सीमित दायरामा अटाउन सक्दैन । जब कुनै सर्जक वा चिन्तकले आफूलाई यो प्रश्न सोध्छ, उसले वास्तवमा आफ्नो अस्तित्वको सार्थकता, चेतनाको प्रकृति र ब्रह्माण्डसँगको आफ्नो नजिकको सम्बन्धलाई नै प्रश्न गरिरहेको हुन्छ । 

मानिसले लेख्नुका पछाडि गहिरा अस्तित्ववादी, मनोवैज्ञानिक र आध्यात्मिक कारणहरू लुकेका हुन्छन्।

मानव जीवन अत्यन्त क्षणभङ्गुर छ । हामी आउँछौँ, केही समय संसारको रङ्गमञ्चमा बाँच्छौँ र अन्ततः समयको अनन्त प्रवाहमा बिलाएर जान्छौँ । यो नश्वरताको चेतना नै मानिसको सबैभन्दा ठूलो आन्तरिक पीडा हो । यही  सन्दर्भमा हेर्ने हो भने, लेखन भनेको समय र मृत्युविरूद्धको एउटा शान्त तर सशक्त विद्रोह हो । जब मानिसले आफ्ना आन्तरिक विचार, अनुभूति र सूक्ष्म अनुभवहरूलाई शब्द र अक्षरमा ढाल्छ, उसले आफूलाई भौतिक शरीरको सङ्कुचित सीमाभन्दा बाहिर विस्तार गर्छ । मानिसले संसारको अर्थहीनतासँग जुध्न र जीवनलाई एउटा जीवन्त स्वरूप दिन सिर्जनाको सहारा लिन्छ । यसरी हेर्दा लेख्नु भनेको ॅम थिएँ, मैले महसुस गरेँ र मेरो अस्तित्वको एउटा विशिष्ट अर्थ थियो’ भनेर समयको विशाल क्यान्भासमा आफ्नो कहिल्यै नमेटिने हस्ताक्षर छाड्नु हो ।

जब हामी लेख्न बस्छौँ, हामी केवल बाहिरी संसारका घटनाहरूका बारेमा लेखिरहेका हुँदैनौँ, बरू आफ्नै चेतनाको सबैभन्दा गहिरो कुनासम्म ओर्लिरहेका हुन्छौँ । शब्दहरूमार्फत आफ्ना डर, आशा, कुण्ठा र सौन्दर्यबोधलाई पर्गेल्दै जाँदा, लेख्ने प्रक्रिया बाहिरी संसारलाई सुनाउने माध्यम मात्र नरहेर आफूले आफूलाई चिन्ने आत्म–बोधको यात्रा बन्न पुग्छ ।

साहित्यको मूल प्राण भनेको संवेदना हो । संसारमा धेरै यस्ता सूक्ष्म पीडा, अतुलनीय सौन्दर्य र गहिरा रहस्यहरू छन्, जसलाई सामान्य र व्यावहारिक भाषाले समेट्न सक्दैन । जब शब्दहरू आफ्नै सीमामा अड्किन थाल्छन्, त्यहीँबाट उच्च साहित्यिक सिर्जनाको वास्तविक सुरूवात हुन्छ । लेखक केवल आफ्नो व्यक्तिगत तुष्टिका लागि मात्र लेख्दैन, उनी समाज र मानव जातिको सामूहिक चेतनाको संवाहक पनि हुन् । जसको भाषा छैन, जसको आवाज दबाइएको छ, वा जुन अनुभूतिहरू मौनतामा गुम्सिएका छन्‌—लेखनले तिनलाई अभिव्यक्ति दिन्छ र सम्पूर्ण मानव जातिसँग आत्मीय एवं भावनात्मक सम्बन्ध गाँस्छ ।

दर्शनशास्त्रले सधैँ सत्यको खोज गर्छ भने साहित्यले सौन्दर्यको । जब यी दुवै धाराहरू एउटै बिन्दुमा भेटिन्छन्, तब उच्च र शाश्वत साहित्यको जन्म हुन्छ। संसारलाई जस्तो देखाइन्छ, के त्यो वास्तवमै त्यस्तै छ वा यसको पछाडि कुनै अर्को गहिरो सत्य लुकेको छ भन्ने जिज्ञासाले सर्जकलाई निरन्तर घच्घच्याइरहन्छ । लेखकले सधैँ सतहभन्दा मुनि ओर्लेर हेर्ने प्रयास गर्छ। दृश्यमान वस्तु, घटना र सम्बन्धहरूका पछाडि लुकेको दार्शनिक सत्यलाई उघार्नु नै लेखकको मूल ध्येय बन्छ । यसरी लेखन भनेको शब्दहरूमार्फत रचिएको सौन्दर्यको त्यो अनन्त महल हो, जहाँ सत्यले आफ्नो पूर्ण स्वरूपमा विश्राम गर्छ ।

अन्ततः म किन लेख्छु ? भन्ने प्रश्नको गहिरो उत्तर यही हो कि— म लेख्छु, किनकि म नलेखी बाँच्नै सक्दिनँ । लेखन केवल सांसारिक आवश्यकता वा औपचारिकता मात्र होइन, यो त चेतनाको सास हो । जबसम्म मभित्र अस्तित्व र जीवनप्रतिका प्रश्नहरू जीवन्त रहनेछन्, जबसम्म म वरिपरिको संसारका उतारचढावले मलाई उद्वेलित पारिरहनेछन्, र जबसम्म मभित्र सौन्दर्य र सत्यप्रतिको असीम तिर्खा रहनेछ—तबसम्म मेरो कलम अविराम चलिरहनेछ । लेख्नु भनेको आफ्नो सीमित भौतिक अस्तित्वलाई असीमित र अमर चेतनाव्रतसँग जोड्ने सबैभन्दा पवित्र माध्यम हो ।

– इटहरी १, सुनसरी

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Thursday, November 26, 2026

अन्तर्वार्ता (अङ्क ४० मा प्रकाशित)




विश्वराज सर, तपाईंले लघुकथा लेख्न कहिलेदेखि सुरु गर्नुभयो र अनि लघुकथाप्रति आकर्षित हुनुकोे कारण के हो ?

विश्वराज : मैले वि.सं. २०४० तिर देखि नै लघुकथा लेखन आरम्भ गरेको हो । लघुकथा–लेखनप्रति मेरो दुई कारणले आकर्षण बढ्यो । मैले हिन्दीमा लेखिएका कथाहरू धेरै अध्ययन गरेको छु । ती कथाहरूको अध्ययनले मलाई लघुकथा लेख्न प्रेरित गर्‍यो । अर्को कारण, लघुकथामा, छोटकारीमा नै धेरै विषय र मुद्दाहरू अभिव्यक्त गर्न मिल्ने भएकोले मलाई लघुकथा लेखन रूचिकर लाग्न थाल्यो । लघुकथामा कम शब्दहरू प्रयोग गरेर अति नै प्रभावकारी किसिमले स्थितिको बयान गर्न सकिने भएकोले पनि मलाई लघुकथा लेख्न रूचि भएको हो । 

 

तपाईंको विचारमा लघुकथा भनेको के हो ?

विश्वराज : लघुकथा के हो भन्नेबारे अनेक विचारहरू सतहमा आएका छन् । मेरो विचारमा लघुकथा भनेको थोरै शब्दहरू प्रयोग गरेर धेरै विषयहरूमा प्रकाश पार्न सकिने एक सशक्त माध्यम हो । 


तपाईंको विचारमा राम्रो लघुकथा लेख्नका लागि स्रष्टाले कुन–कुन कुरामा ध्यान दिनुपर्छ होला ?

विश्वराज : कस्तो लघुकथा राम्रो हो ? यो ज्यादै जटिल प्रश्न हो । यस प्रश्नको उत्तर म ठिकसँग दिन सक्तिनँ । कसैले लेखेको कुनै एक लघुकथा दसजना पाठकहरूलाई उत्कृष्ट लाग्न सक्छ । सोही लघुकथा अर्को दस जनालाई अति सामान्य लाग्न पनि सक्छ । 

त्यसैले मेरो विचारमा प्रभावकारी लघुकथा लेख्नका लागि लेख्ने व्यक्तिले गहिरो अध्ययन गर्नुपर्छ । अन्य लघुकथाकारहरूको लघुकथा पढ्नुपर्छ । लघुकथा लेख्नुपूर्व जुन विषयसँग सम्बन्धित लघुकथा लेख्ने हो त्यस विषयको गहिरो अध्ययन गर्नुपर्छ । त्यसउपर चिन्तन तथा मनन पनि गर्नुपर्छ ।

व्यक्तित्व (अङ्क ४० मा प्रकाशित)


आधुनिक नेपाली कथा–परम्पराको 'नवचेतनाको युग’ (सं. २०२०–३९) मा कथाकार नारायण तिवारी (सं. २०११) देखा परेका हुन् । उनको पहिलो कथाको शीर्षक हो 'ती सबै मेरा सपना थिए’ (सं. २०३३) जुन 'प्रयोग’ पत्रिकामा प्रकाशित भएको थियो । स्नातकोपाधि प्राप्त गरेका उनको अभिरुचि साहित्यिक पत्रकारिता एवम् सम्पादन कार्यमा पनि रहेको देखिन्छ । उनी 'षडानन्द प्रतिभा पुरस्कार’ (सं. २०५४), 'नवक्षितिज साहित्य पुरस्कार’ (सं. २०५५), 'कविशिरोमणि लेखनाथ पौड्यालको १२४औँ जन्मजयन्तीको अवसरमा सम्मान’ (सं. २०६४) आदिद्वारा सम्मानित भइसकेका छन् । उनका प्रकाशित कृतिहरू हुन् :

१. सपनाहरू जिन्दगीका (मुक्तक/कवितासङ्ग्रह, २०३९)
२. अस्थिपञ्जर (कथासङ्ग्रह, २०५४)
३. पिताम (लघुउपन्यास, २०५७)
४. दसैँ खर्च (लघुकथासङ्ग्रह, २०५७)
५. अर्थात् (कवितासङ्ग्रह, २०६३)
६. शत्रु (कथासङ्ग्रह, २०६६)
७. रोबोट मेरो साथी¬(बालकथासङ्ग्रह, २०६८)
८. काठमाडौँमा सूर्यस्नान (कथासङ्ग्रह, २०६९ )
९. महँगी, भोक र सार्वभौमसत्ता (लघुकथासङ्ग्रह, २०७०)
१०. स्मृति कतिकति (संस्मरण, २०७४)
११. अब तिम्रो पालो (कवितासङ्ग्रह, २०८०)
१२. जङ्गबहादुर पनि हाँस्छ ? (कथासङ्ग्रह, २०८२)

नारायण तिवारी मान्छेभित्रको स्वार्थी, अति तुच्छ, परपीडक र बर्बर मनोवृत्ति उद्घाटन गर्नमा गहिरो अभिरूचि राख्ने लघुकथाका स्रष्टा हुन् । उनी मान्छेमा सौहार्दता, आत्मीयता र उदारताको भावना हराउँदै गएको देख्दछन् । पाशविक प्रवृत्तिको प्रभावमा मान्छेले मान्छेलाई नै विश्वासघात गरेको र निजी स्वार्थमा लीन भएर अरूलाई पीडामा पारेको यथार्थलाई उनले आफ्ना लघुकथाहरूको विषय बनाएका छन् । उनी समाजमा स्पष्टसँग देख्दछन् – मान्छेले इमानदार बन्दा उल्टै मूर्ख भन्ने उपाधिद्वारा आरोपित हुनुपर्दछ ('परिवेश’ कथा), भलादमी मान्छेले भन्दा बदमास र दुष्ट मान्छेले प्रश्रय पाउँदछ ('शिष्टता’ कथा) र अरूबाट नाटकीय ढङ्गबाट सहानुभूतिस्वरूप पैसा ठगी अन्ततः मान्छेले त्यो पैसा मादक पदार्थ सेवन गरेर सिध्याउने गर्दछ ('सहयोगका लागि धन्यवाद !’ कथा)। यसको अर्थ के हो भने मान्छे अन्ततः समाजमा मानवीय भावनालाई आफ्नो गोजीभित्र राखेर दानव भएर चारैतिर घुमिरहेको हुन्छ भन्ने कुरालाई यी कथाकारले स्पष्ट पारेका छन् । यसै सन्दर्भमा 'दसैँ खर्चॅ कथाको यो अंश हेरौं :

म दसैँको बिदामा घर पुग्दा कर कार्यालयको मुखियामा जागिरे मेरो भाइ पनि पुगिसकेको रहेछ ।

'ए, तँ पनि आइपुगिस् ?’ मलाई यति मात्र भन्नुभएको थियो बाले र भाइसँग पुनः कुरा गर्न थाल्नुभएको थियो ।

म भने भित्र पसेर खाटमा पल्टिएँ ।

'ए, रमेशलाई नुहाउन साबुन, बाल्टिन निकालिदेओ ।’ बाले आज्ञा दिनुभएथ्यो अन्य साना भाइबहिनीहरूलाई ।

+ + + 

आखिर म उठेर बहिर वा भएनेर गएर बसें । मैले खल्तीबाट एकएक सयका दुइटा नोट निकाली बाको हातमा राखिदिएँ र भने, 'यो दसैँमा चाहिएला …।’ बाले नोटमा र मेरो भनाइमा कुनै उत्सुकता देखाउनुभएन ।

+ + + 

'एइ, खोइ त्यो रमेशले दिएका दुइटा हजारियाले त, बजार जानु छ ।’

'ती सिरानमुनि राखिदिएकी छु, लैजानु क्या त ।’ आमाले भान्सा कोठाबाटै आवाज लगाउनुभयो ।

मैले देखें– आमाको हातमा पङ्खा थियो र रमेश पङ्खाको हावामा खुब मस्त भएर भात खाइरहेथ्यो ।

लेख (अङ्क ४० मा प्रकाशित)


---आस्था आशिष---


विषय प्रवेश : नारी चेतना, सामाजिक यथार्थ र सिर्जनात्मक हस्तक्षेप

साहित्य समाजको ऐना हो । यसले समाजमा घटिरहेका घटना, मानिसका अनुभूति, पीडा, खुसी, सङ्घर्ष र परिवर्तनका आकाङ्क्षालाई अभिव्यक्त गर्छ । साहित्यका विभिन्न विधामध्ये लघुकथा छोटो आयाममा गहिरो अर्थ र प्रभाव दिन सक्ने सशक्त विधा हो । थोरै शब्दमा धेरै कुरा भन्न सक्ने यसको विशेषताले गर्दा पछिल्लो समय नेपाली साहित्यमा लघुकथाको लोकप्रियता र आकर्षण बढ्दै गएको छ ।

नेपाली लघुकथा साहित्यको विकासक्रमलाई नियाल्दा महिला स्रष्टाहरूको योगदानलाई अलग राखेर यसको इतिहास पूर्ण हुन सक्दैन । समाजका आधा हिस्सा ओगटेका महिलाहरूले आफ्ना भोगाइ, अनुभूति, पीडा, सङ्घर्ष र सपनालाई साहित्यका माध्यमबाट अभिव्यक्त गर्दै आएका छन् । विशेषगरी लघुकथामा महिलाका जीवनका सूक्ष्म पक्ष, पारिवारिक सम्बन्ध, लैङ्गिक विभेद, सामाजिक असमानता, मातृत्व, प्रेम, त्याग, आत्मसम्मान र स्वतन्त्रताका विषयले महङ्खवपूर्ण स्थान पाएका छन्।

महिला स्रष्टाहरूले लघुकथा लेखनमार्फत केवल आफ्नो व्यक्तिगत अनुभूति मात्र प्रस्तुत गरेका छैनन्, समाजमा विद्यमान गलत परम्परा, रूढिवादी सोच र विभेदपूर्ण व्यवहारमाथि प्रश्नसमेत उठाएका छन् । यस अर्थमा नेपाली लघुकथा साहित्यलाई समृद्ध बनाउन महिला स्रष्टाहरूको भूमिका उल्लेखनीय र महत्वपूर्ण रहेको छ ।


नेपाली लघुकथा साहित्यको पृष्ठभूमि र महिला सहभागिता

नेपाली लघुकथाको सचेत लेखन र प्रकाशनको इतिहासलाई वि.सं. २००७ आसपासबाट अघि बढेको मानिन्छ । प्रारम्भिक चरणमा पुरूष स्रष्टाहरूको उपस्थिति बढी देखिए पनि महिला स्रष्टाहरूले पनि यस विधामा आफ्नो सिर्जनात्मक उपस्थिति जनाउँदै आएका थिए । समयक्रमसँगै महिला लघुकथाकारहरूको सङ्ख्या, लेखनको विषयवस्तु र सिर्जनात्मक सक्रियता बढ्दै गयो ।

नेपाली लघुकथा साहित्यको विकासक्रममा शशिकला शर्मा र अनिता तुलाधरजस्ता अग्रणी महिला स्रष्टाहरूको नाम उल्लेखनीय रूपमा आउँछ । शशिकला शर्माको 'उसको सुरुवात’ प्रारम्भिक महिला लघुकथा सिर्जनाका सन्दर्भमा उल्लेख गरिन्छ । त्यसैगरी अनिता तुलाधरको 'फूलू’ लघुकथा सङग्रहले यस विधामा महिला स्रष्टाहरूको उपस्थिति र योगदानलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।

त्यसपछिका वर्षहरूमा भागीरथी श्रेष्ठ, इन्दिरा प्रसाईं, सरस्वती रिजाल, सुशीला देउजा, साधना प्रतीक्षा, सिन्धु गौतम, शर्मिला खड्का दाहाल, नारा जोशी, ज्योतिप्रभा बिष्टलगायत स्रष्टाहरूले लघुकथा लेखनलाई निरन्तरता दिँदै नेपाली लघुकथा साहित्यको क्षेत्र फराकिलो बनाउन योगदान पुर्‍याएका छन् ।

यी स्रष्टाहरूका सिर्जनाले महिला जीवनका विविध आयामलाई साहित्यमा स्थान दिनुका साथै लघुकथाको विषयगत र शिल्पगत विकासमा समेत सहयोग पुर्‍याएका छन् । उनीहरूको उपस्थितिले नेपाली लघुकथा साहित्यमा नारी दृष्टिकोण र संवेदनाको नयाँ आयाम थपिएको छ ।

लेख (अङ्क ४० मा प्रकाशित)


भूमिका

लघुकथा नेपाली साहित्यमा निरन्तर विकसित हुँदै आएको स्वतन्त्र कथात्मक (आख्यानात्मक) विधा हो । यसको लोकप्रियता र लेखन अभ्यास विस्तार हुँदै जाँदा विधाको स्वरूप, संरचना, कथ्य, शिल्प र लेखन प्रक्रियाबारे विभिन्न धारणा पनि विकसित भएका छन् । नयाँ पुस्ताका लेखकहरू यस विधातर्फ आकर्षित भइरहेका छन् । तर, लघुकथाको प्रकृति र सम्भावनाबारे प्रचलित केही एकाङ्की धारणा, आग्रहपूर्ण व्याख्या र भ्रमले लघुकथा लेखनलाई अनावश्यक रूपमा सीमित बनाएको पनि देखिन्छ । निश्चित शब्दसीमा, घटनाको सङ्ख्या, पात्रको उपस्थिति, कथ्य समय वा अन्त्यको प्रकृतिलाई नै लघुकथाका अनिवार्य सर्त मान्ने प्रवृत्ति यसका केही उदाहरण हुन् ।

कुनै पनि साहित्यिक विधाको विकासका लागि त्यसको स्वरूप र शिल्पबारे निरन्तर विमर्श आवश्यक हुन्छ । विधागत विशेषताबारे स्पष्टता हुनु लेखनका लागि सहयोगी हुन्छ; तर, कुनै एउटा लेखन पद्धति वा अभ्यासलाई नै सर्वमान्य नियम बनाइयो भने सिर्जनात्मक सम्भावना साँघुरिन सक्छ । अर्कोतर्फ, सिर्जनात्मक स्वतन्त्रताको अर्थ विधागत पहिचान र शिल्पगत अनुशासनबाट पूर्णतः मुक्त हुनु पनि होइन । लघुकथा लेखनमा यी दुई पक्षबीचको सन्तुलन महत्वपूर्ण हुन्छ ।

लघुकथा छोटो समयको कथा होइन, सीमित भाषिक आयतनमा संघनित गरिएको कथा हो । यसको लघुता शब्द सङ्ख्यामा मात्र होइन, कथ्यको प्रस्तुति, संरचनाको कसिलोपन, भाषाको अर्थक्षमता र समग्र कलात्मक प्रभावमा निहित हुन्छ । त्यसैले लघुकथा लेखनलाई केही निश्चित सूत्र वा नियममा सीमित गर्नुभन्दा यसको विधागत प्रकृति, सम्भावना, चुनौती र सिर्जनात्मक अभ्यासका विविध पक्षबाट बुझ्नु आवश्यक छ ।

यो आलेख लघुकथा लेखनमा देखिएका प्रचलित भ्रम, त्यससँग जोडिएका चुनौती र सिर्जनात्मक अभ्यासका आधारभूत पक्षमाथि केन्द्रित छ । यसको उद्देश्य नयाँ लेखकलाई निश्चित ढाँचामा लेख्न निर्देशन दिनु होइन; विधाबारे स्पष्ट बुझाइ निर्माण गर्दै आफ्नै सिर्जनात्मक सम्भावना पहिचान गर्न प्रेरित गर्नु हो ।


१. लघुकथा लेखनको प्रारम्भिक बुझाइ

लघुकथा गद्य साहित्यको स्वतन्त्र कथात्मक विधा हो । यसमा जीवन, समाज, सम्बन्ध, मनोविज्ञान, समय, सत्ता, प्रकृति र मानवीय अनुभूतिका विविध पक्षलाई सीमित भाषिक आयतनमा प्रस्तुत गरिन्छ । तर, कुनै रचना छोटो हुँदैमा लघुकथा हुँदैन । त्यसमा कथात्मकता, केन्द्रीय कथ्य, अर्थपूर्ण संरचना र समग्र कलात्मक प्रभाव आवश्यक हुन्छ ।

लघुकथाको लघुता यसको बाह्य आकारसँग मात्र सम्बन्धित छैन । छोटो आकारभित्र पनि विस्तृत जीवनानुभूति, सामाजिक यथार्थ, मनोवैज्ञानिक जटिलता वा ऐतिहासिक चेतना समेटिन सक्छ । त्यसैले लघुकथाको मूल्याङ्कन शब्द सङ्ख्याका आधारमा मात्र गर्नु विधाको प्रकृतिलाई सीमित गर्नु हो । शब्द कम हुनु र कथा संघनित हुनु फरक कुरा हुन् । लघुता आकारसँग सम्बन्धित छ भने संघनन अभिव्यक्तिको गुणसँग ।

लघुकथामा कथ्यलाई अनावश्यक विस्तार नगरी त्यसको प्रभावकारी प्रस्तुति गरिन्छ । यसका लागि लेखकले कथाको मूल भाव, आवश्यक घटना, पात्रको भूमिका र भाषिक प्रस्तुतिबीच उचित सन्तुलन कायम गर्नुपर्छ । कथाको आकार सानो भए पनि त्यसको अर्थक्षेत्र फराकिलो हुन सक्छ ।

कुनै छोटो गद्यरचना लघुकथा बन्नका लागि त्यसमा कथात्मक सम्बन्ध र प्रभावको निर्माण भएको हुनुपर्छ । घटना, पात्र वा अवस्थाको उपस्थितिले कुनै कथ्यगत अर्थ निर्माण गर्नुपर्छ । त्यसैले आकारको लघुता विधागत पहिचानको एउटा पक्ष हो, सम्पूर्ण आधार होइन ।

Monday, November 23, 2026

लघुकथा संसार अङ्क ४०

लघुकथा संसार मासिक अङ्क ४० (सम्पादकीय)


नेपाली साहित्यमा लघुकथा एउटा सशक्त र लोकप्रिय विधाका रूपमा विकसित हुँदै गएको छ । थोरै शब्दमा गहन भाव, विचार र सामाजिक यथार्थ प्रस्तुत गर्न सक्ने भएकाले यसको आकर्षण दिनप्रतिदिन बढिरहेको छ । पछिल्लो समय नयाँ तथा पुराना सर्जकहरू लघुकथा लेखनमा सक्रिय हुनु सुखद पक्ष हो ।

डिजिटल प्रविधि र सामाजिक सञ्जालको विस्तारले लघुकथा लेखन तथा प्रकाशनलाई सहज बनाएको छ । विभिन्न अनलाइन पत्रपत्रिका र साहित्यिक मञ्चहरूले नयाँ प्रतिभालाई आफ्नो सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गरिरहेका छन् । तर, लेखनको बढ्दो आकर्षणसँगै गुणस्तर, मौलिकता र विषयवस्तुको गहिराइ कायम राख्नु चुनौतीका रूपमा देखिएको छ । छोटो लेख्दैमा लघुकथा बन्दैन । थोरै शब्दभित्र जीवनका गहिरा अनुभूति, सामाजिक यथार्थ र प्रभावशाली कथ्य प्रस्तुत गर्न सक्नु नै सफल लघुकथाको विशेषता हो ।

लघुकथाको विकासका लागि सर्जकले अध्ययन, अभ्यास र सिर्जनात्मकतामा ध्यान दिनु आवश्यक छ । त्यस्तै, सम्पादक, समीक्षक र साहित्यिक पत्रिकाहरूले पनि स्तरीय सिर्जनालाई प्रोत्साहन गर्दै नयाँ प्रतिभालाई अगाडि बढाउनुपर्छ । लघुकथाको उन्नयन कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव छैन, यसका लागि हामी सबैको साझा दायित्व र सक्रियता आवश्यक छ ।

यसैबीच, हाम्रो लघुकथा संसार अनलाइन मासिकको यसपटकको असोज–कार्तिक संयुक्ताङ्कमा पाठक तथा सर्जकहरूलाई थप सामग्री उपलब्ध गराउने उद्देश्यले साविक अङ्कभन्दा बढी १२० पृष्ठ समेटेका छौँ । यस प्रयासले नेपाली लघुकथा र साहित्यको सेवामा एउटा सानो भए पनि अर्थपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौँ । हाम्रो यो साहित्यिक यात्रामा साथ, सहयोग र सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण सर्जक, पाठक तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।

अङ्क ४० पढ्न र डाउनलोड गर्नका लागि फोटोमा क्लिक गर्नुहोस् ।


--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Saturday, October 31, 2026

कविता संसार अङ्क ३७

कविता संसार मासिक अङ्क ३७ (सम्पादकीय)


साहित्य मानिसको मन, समाज र समयको आवाज हो । यसले जीवनका सुखदुःख, आशा, पीडा र परिवर्तनका आकाङ्क्षालाई शब्दमा उतार्छ । त्यसैले साहित्यको संरक्षण र विकासमा स्रष्टा, पाठक तथा साहित्यिक संस्थाहरूको भूमिका महत्वपूर्ण हुन्छ ।

यही साहित्यिक यात्रामा 'कविता संसार' अनलाइन मासिक नेपाली कवितालाई पाठकमाझ पुर्‍याउने उद्देश्यका साथ अघि बढिरहेको छ । नयाँ प्रतिभालाई अवसर दिनु, स्थापित स्रष्टाका सिर्जनालाई पाठकसमक्ष ल्याउनु र विविध विचार तथा अनुभूतिलाई एउटै मञ्चमा जोड्नु हाम्रो प्रयास हो ।  डिजिटल माध्यमले आज स्वदेशदेखि प्रवाससम्मका स्रष्टा र पाठकलाई जोड्ने अवसर दिएको छ ।

तर साहित्यको मूल्य प्रकाशन र लोकप्रियतामा मात्र सीमित हुँदैन । सिर्जनाको मौलिकता, भाषाको मिठास, विचारको गहिराइ र जीवनप्रतिको संवेदनशीलता उत्तिकै आवश्यक छन् । त्यसैले गुणस्तरीय सिर्जनाको सम्मान र स्वस्थ साहित्यिक संस्कृतिको विकासमा हामी सबै सचेत हुनुपर्छ ।

'कविता संसार' कविता प्रकाशन गर्ने माध्यम मात्र नभई स्रष्टा र पाठकबीचको साझा चौतारी बन्न चाहन्छ । नेपाली माटो, जनजीवन, भाषा र संस्कृतिका विविध स्वरलाई स्थान दिँदै नेपाली कविताको समृद्ध परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउनु हाम्रो दायित्व हो ।

हामी विश्वास गर्छौँ—स्रष्टाको सिर्जना, पाठकको माया र साहित्यप्रतिको साझा प्रतिबद्धताले हाम्रो यात्रा अझ सार्थक बन्नेछ । आउनुहोस्, मौलिक सिर्जनाको सम्मान गर्दै नेपाली कविताको उज्यालो यात्रामा सहयात्री बनौँ ।

अङ्क ३७ पढ्न र डाउनलोड गर्नका लागि फोटोमा क्लिक गर्नुहोस् ।


--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।